काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी आठौं महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
नेपालका राजनीतिक दलहरूमध्ये महाधिवेशनमा पहिलोपटक इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने दल राप्रपा हो। तत्कालीन राप्रपा नेपालले २०७१ सालको महाधिवेशनदेखि सुरु गरेको यो अभ्यासलाई २०७३ र २०७८ सालका महाधिवेशनमा समेत निरन्तरता दिएको थियो।
पार्टीको आगामी आठौं केन्द्रीय महाधिवेशन (२०८३)मा पनि इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। भोटिङ मेसिनमार्फत निर्वाचन गराउने केन्द्रीय निर्वाचन समिति बैठकले निर्णय गरेको श्रेष्ठले बताए।
राप्रपाको केन्द्रीय महाधिवेशन २६ देखि २८ मंसिरसम्म काठमाडौँमा हुँदैछ।