कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना हुँदै, १४ कोठामा सिसिटिभी जडान

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गर्ने तयारी गरेको हो।

निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपाका १४ वटा कोठामा मतगणना गरिनेछ। मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन कोठाहरूमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ।

यसअघि शुक्रबार राति सम्पन्न मतदानपछि सभापति पदको मतगणना गरिएको थियो। सभापतिमा गगनकुमार थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै विजय हासिल गरेका थिए। थापाले झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका थिए।

शनिबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले उपसभापति र महामन्त्रीलगायतका पदमा पराजित हुने उम्मेदवारलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

पार्टीमा सबैको भूमिका र जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले निर्वाचनको परिणामले क्षणिक रूपमा जित र हार देखाए पनि पार्टी निर्माणमा सबैको योगदान आवश्यक रहेको बताएका थिए।


 

सुझावित समाचार