काठमाडौं - नेपालको अग्रणी अनलाइन बस टिकट सेवा प्रदायक बससेवाले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
बससेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दसैँका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
विभागको निर्णयअनुसार नै बससेवाले अग्रिम टिकट बुकिङ खुला गरेको हो । विभागले लाइन लागेर टिकट काट्नभन्दा अनलाइन एपहरूमार्फत टिकट बुकिङ गर्न आग्रहसमेत गरेको थियो ।
यही क्रममा बससेवाले दसैँको समयमा टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्दै यस वर्ष ‘लाइनमा बसेर होइन, अनलाइन बसेर टिकट काटौँ’ भन्ने सन्देशसहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ ।
बससेवाको मोबाइल एप र वेबसाइडमा लगइन गरी यात्रुले घरमै बसेर आफ्नो गन्तव्य, यात्रा मिति, बस तथा सिट छनोट गर्न सक्नेछन् ।
यात्रुलाई सुविधा दिन बससेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले सय रुपैयाँसम्मको छुट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पिआर खनालले जानकारी दिए । यसबाहेक विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक तथा अन्य छुटका अफरहरूसमेत सञ्चालनमा रहेको उनको भनाइ छ ।
बससेवाले दसैँको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ ।