मतदातासँग मत माग्दै गगन थापा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार गगनकुमार थापाले मतदानका लागि लाइनमा बसेका मतदातासँग मत मागेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशन गत वर्ष मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले असोजमै गरेको थियो। तर, पार्टी नेतृत्वले महाधिवेशन गर्न आलटाल गरेपछि थापाले विशेष महाधिवेशनमार्फत पार्टीलाई विधान र संविधानअनुरूप अघि बढाउने पहल गरेका थिए। त्यसपछि उनी पार्टीको नेतृत्वमा आएका थिए।

थापाकै नेतृत्वमा कांग्रेस गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। यसपटक पनि उनले समयमै महाधिवेशन गराएर पार्टीलाई विधानसम्मत रूपमा अघि बढाउने प्रयास गरेका छन्। थापाले मत मागिरहँदा मतदाताहरू उत्साही देखिएका थिए। सभापति पदमा उनले काठमाडौं ६ का श्यामकृष्ण खड्गीसँग प्रतिस्पर्धा गरिरहेका छन्। खड्गी पहिलोपटक केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका हुन्।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका थिए। उनी यसअघि पार्टीको महामन्त्रीसमेत भइसकेका छन्। जेन–जी आन्दोलनपछि पार्टीको नीति र कार्यशैलीलाई समय तथा समाजअनुकूल परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका थापाले विशेष महाधिवेशन सफल बनाउँदै पार्टीलाई नयाँ नेतृत्वसहित अघि बढाएका छन्।

थापाले मतदातालाई कसैको बहकाउमा नपरी स्वविवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। उनले आज बिहान सामाजिक सञ्जालमार्फत कुनै समूह नबनेको उल्लेख गर्दै मतदातालाई कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा मतदान गर्न अपिल गरेका थिए।


 

सुझावित समाचार