कांग्रेस १५औँ महाधिवेशन : १ बजेदेखि मतदान हुने भएकाले बिहानैदेखि लाइनमा नबस्न आग्रह

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहान ७ बजे र त्यसपछि १० बजे मतदान सुरु गर्ने कार्यतालिका रहे पनि वर्षा तथा प्राविधिक कारणले समय सारिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनका सात हजार दुई  सय ५५ जना प्रतिनिधिले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्। निर्वाचन समितिले बिहानैदेखि मतदान केन्द्रमा लाइनमा नबस्न प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

निर्वाचन व्यवस्थापनबारे छलफल गर्न निर्वाचन समितिले बिहान ११:३० बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने जनाएको छ।

प्रदेश र समूहअनुसार मतदान केन्द्र
संशोधित निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रबाट मतदान गर्नुपर्नेछ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई–मधेश समूह
हिमाल हल : गण्डकी प्रदेश
तराई–मधेश हल : मधेश प्रदेश
पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफ्नो प्रदेश तथा समूहअनुसार तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री, मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान पाइनेछैन। समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

२९७ सदस्यीय केन्द्रीय कार्यसमिति
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ।


 

 

सुझावित समाचार