सुर्खेत/ पहिरोका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार गगनेखोलामा बुधबार बिहान ८ बजेदेखि अवरुद्ध सडक करिब आठ घण्टापछि बेलुका ४ः३० बजे सञ्चालनमा आएको हो। पहिरो पन्छाएपछि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले बताए।
सडक सञ्चालनमा आएपछि जुम्ला, मुगु र कालीकोटतर्फ जाने तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रास्कोट क्षेत्रबाट आएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।