नवलपरासीमा ११ लाख ६८ हजार रुपैयाँको भन्सार छलीका कपडा बरामद

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासीमा प्रहरीले करिब ११ लाख ६८ हजार रुपैयाँबराबरको भन्सार छली गरी ल्याइएको कपडा बरामद गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २९ गते बिहान करिब ११ बजे सुस्ता गाउँपालिका– १, रुपौलियास्थित महेन्द्र चौधरीको घरमा छापा मारेर विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

प्रहरीका अनुसार चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएको अवस्थामा ती सामान फेला परेका थिए। बरामद कपडाको अनुमानित मूल्य रु. ११ लाख ६८ हजार आठ सय रहेको प्रहरीले जनाएको छ।

बरामद सामानमा ८९ थान साडी, १०६ थान कुर्ता–सुरुवाल कटिङ, १२ थान कुर्ता–सुरुवाल, १८ थान लेडिज टिसर्ट, ३२ थान पुरुषको शेरवानी कुर्ता सेट, १४४ मिटर सुतीको थान कपडा, ५८ थान कुर्ता–सुरुवाल र ११० थान लुंगी रहेका छन्।

प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जनाएको छ। प्रहरीले पछिल्लो समय सीमा क्षेत्रबाट हुने भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

सुझावित समाचार