स्रोत नखुलेको साढे २१ लाखसहित हेटौँडाबाट दुईजना पक्राउ

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

मकवानपुर/ मकवानपुरको हेटौँडाबाट स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। हेटौँडा उपमहानगरपालिका– १ चौकीटोलमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डिम्याक्स गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गाडीचालक धादिङको नीलकण्ठ नगरपालिका–८ का करिब ३२ वर्षीय विजय खाती र गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का करिब ४० वर्षीय सिंहराम रुम्बा छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको मोबाइल टोलीले सोमबार साँझ करिब ७ः३५ बजे हेटौँडा–भीमफेदी सडकखण्डमा गाडी रोकेर जाँच गरेको थियो। 
जाँच गर्ने क्रममा गाडीभित्र कालो प्लास्टिकको झोलामा लुकाएर ल्याइएको अवस्थामा नगद फेला परेको प्रहरीको भनाइ छ। बरामद रकममा एक हजार र पाँच सय दरका नेपाली नोट छन्। प्रहरीले कुन दरका नोट कति संख्यामा थिए भन्ने विवरण भने दिएको छैन।

सशस्त्र प्रहरीको टोलीले नगद र गाडीसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बुझाएको छ। दुवैजनामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले मकवानपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ।

सुझावित समाचार