काठमाडौं/ बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जाेशीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
जोशी २०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नं २ (ख)बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। चितवनका तीन संघीय निर्वाचन क्षेत्र र ६ प्रदेश निर्वाचन क्षेत्रमध्ये कांग्रेसबाट निर्वाचित एक मात्र प्रदेश सांसद हुन् उनी। ०८० जेठ ७ गते प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनी प्रदेशकै उत्कृष्ट मन्त्रीका रूपमा सम्मानितसमेत भएका थिए।
२०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्कुल कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका उनले संघको जिल्ला सचिव, जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै स्ववियु सदस्यसम्मको जिम्मेवारीमा रहेका काम गरिसकेका छन्।
नेपाली कांग्रेसको वडासचिव, वडा सभापति हुँदै १३औँ महाधिवेशनमा कांग्रेस चितवनको जिल्ला सचिव निर्वाचित जाेशी १४औँ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बनेका थिए।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधि, संगठनबाट खारिएको नेता र सरकारको जिम्मेवारी सम्हालिसकेको अनुभवलाई आधार बनाएर आफूले पार्टीको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिएको जाेशीले बताए।