चितवन/ चितवनको रत्ननगर नगरपालिका–३, बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब १०: ३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१ निवासी करिब २० वर्षीय ओसिक अन्सारी घाइते भएका थिए। घाइते अन्सारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकामा चिकित्सकले बिहान ११:०९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालक उदयपुरको रौतामाई गाउँपालिका–९ का ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।