वर्षाले बिगारेका बर्दिया राष्ट्रिय निकुञ्जका सडक मर्मत हुँदै

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

बर्दिया/ पानी परेपछि बिग्रिएका बर्दिया राष्ट्रिय निकुञ्जभित्रका सडक मर्मतको काम निकुञ्जले सुरु गरेको छ। वर्षाका कारण सडकमा खाल्डाखुल्डी पर्नुका साथै केही स्थानमा आवागमनसमेत असहज भएपछि निकुञ्जले सडक मर्मत थालेको हो।

पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय जंगल सफारीका लागि आउने पर्यटकको संख्या बढ्दै गएको छ। निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज रूपमा वन्यजन्तु अवलोकन गराउन आवश्यक पर्ने सडक मर्मतलाई निकुञ्जले प्राथमिकतामा राखेर काम अघि बढाएको हो।

वर्षायाममा बिग्रिएका सडकका खाल्डाखुल्डी पुर्ने, सडक सम्याउने र आवश्यक स्थानमा ग्राभेल हाल्ने काम भइरहेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले बताए। सडककिनारमा रहेका अग्ला घाँस तथा झाडी काटेर आवागमन सहज बनाउने कामसमेत भइरहेको उनले जानकारी दिए।

सडक मर्मत भएपछि पर्यटकलाई निकुञ्जभित्र सहज रूपमा आवतजावत गर्दै वन्यजन्तु अवलोकन गर्न सहयोग पुग्ने न्यौपानेले बताए। त्यसबाहेक निकुञ्जले नियमित रूपमा गर्दै आएको गस्तीका लागि कर्मचारीलाई आवतजावत गर्नसमेत सहज हुने उनको भनाइ छ।

रोयल टाइगर कटेजका सञ्चालक रामबहादुर शाहीले निकुञ्जभित्रका सडक मर्मत भएपछि निकुञ्ज घुम्न आउने पर्यटकलाई ल्याउन–लैजान सहज हुने बताए। उनले भने, ‘बाटो बनेपछि निकुञ्जभित्र जाँदा सहज रूपमा वन्यजन्तु देखाउन सकिन्छ। यसले पर्यटन गतिविधि बढाउन र पर्यटन उद्योगलाई फस्टाउन सहयोग पुग्छ।’

निकुञ्जले निश्चित रुट प्रयोग गर्न दिने गरी बर्खायाममा पनि जंगल सफारी खुला राखेको थियो। निकुञ्जमा बर्खायाममा समेत करिब एक हजार जनाले जंगल सफारी गरेका थिए।

सुझावित समाचार