यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा-बढुवा, अनुदान स्वीकारलगायत विभिन्न निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका ६ निर्णयहरू सार्वजनिक गरेका हुन्।

हेर्नुस् निर्णयहरू :
१. अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने,

२. पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जन खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम, शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने,

३. पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई  संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने,

४. संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोे विधेयक संघीय सदनसमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने,

५. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन ,२०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय सदनसमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने,

६.नेपाल प्रशासन सेवा समयीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभाष श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ  सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।

सुझावित समाचार