- लगातारकाे वर्षाले पानीको सतह बढ्दो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ । पानीको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जलाशयको सतह निरन्तर बढिरहेको जानकारी दिँदै तल्लो तटीय क्षेत्रका बासिन्दासहित सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेका छन् ।
केन्द्रले यसअघि सार्वजनिक गरेको चेतावनी व्यवस्थाअनुसार जलाशयको पानीको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो चरणको साइरन बजाइनेछ। त्यसपछि जलाशयको अवस्था र पानी बढ्ने क्रमका आधारमा थप सतर्कताका सूचना जारी गरिनेछ ।
‘लगातारको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह एक हजार ५२६ मिटर पुगेको छ,’ केन्द्र प्रमुख राउतले भने, ‘पूर्ववत् जानकारीअनुसार पानीको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ। सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गर्दछौँ।’
अहिलेसम्म चेतावनीको तहभन्दा एक मिटर तल
हाल जलाशयको सतह पहिलो चेतावनी साइरन बजाइने तहभन्दा एक मिटर तल रहेको छ। निरन्तर वर्षा भइरहेकाले पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले जलाशयआसपास र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सूचना र चेतावनीप्रति विशेष ध्यान दिन आग्रह गरेको छ।
कुलेखानी जलाशयको अधिकतम सतह एक हजार ५३० मिटर हो । यसअघि शुक्रबार साँझ ७ बजेसम्म पानीको सतह एक हजार ५२३.५१ मिटर थियो। त्यसयता वर्षा जारी रहँदा पानीको सतह क्रमशः बढेको हो।
जलाशय भरिने अवस्थातर्फ जाँदा एकैपटक ठुलो परिमाणमा पानी व्यवस्थापन गर्नुपर्ने जोखिम कम गर्न सम्बन्धित निकायले जलाशयको अवस्था निरन्तर निगरानी गर्दै आएका छन्।
साइरन सुनेपछि तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता
इन्द्रसरोवर गाउँपालिकाले यसअघि कुलेखानी ड्यामको सुरक्षाका लागि तीन तहको साइरन प्रणालीसम्बन्धी सूचना सार्वजनिक गरिसकेको छ। पहिलो साइरन जलाशय उच्च तहमा पुग्न लागेको चेतावनीका रूपमा प्रयोग गरिने व्यवस्था छ।
यसअघि गाउँपालिकाले पहिलो चेतावनीपछि खोला तथा नदीकिनारमा नजान, दोस्रो चेतावनीपछि जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति तथा पशुचौपायालाई सुरक्षित स्थानमा सार्न र अन्तिम चेतावनीपछि खोलाकिनार तथा होचा क्षेत्र तत्काल छाड्न आग्रह गरेको थियो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पछिल्लो अवस्थाबारे जानकारी दिँदै आधिकारिक सूचनालाई आधार मानेर मात्र निर्णय गर्न र प्राप्त सूचना अन्यलाई पनि जानकारी गराएर सुरक्षित रहन सहयोग गर्न आग्रह गरेको छ।
लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न सडकमा पहिरो, लेदो र भूक्षयको समस्या देखिएको अवस्थामा कुलेखानी जलाशयको सतह पनि निरन्तर बढिरहेकाले प्रशासन र सम्बन्धित निकायले निगरानी तथा पूर्वतयारी बढाएका छन्।