जापानका ११ वर्षीय युकी कुरिहाराले स्पोर्टस्को ‘पुयो पुयो च्याम्पियन्स’ मा स्वर्ण पदक जितेका छन् । कुरिहाराले फाइनलमा दक्षिण कोरियाका काङ दोङसिनलाई १०–२ ले हराउँदै स्वर्ण हात पारेका हुन् ।
उनले सेमिफाइनलमा थाइल्यान्डका तनाराक वोङकिटकुनलाई १०–१ ले हराए । कुरिहारा एसियाडको इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
‘पुयो पुयो च्याम्पियन्स’ रंगीन ब्लक मिलाएर अंक जोड्ने लोकप्रिय पजल भिडियो गेम हो । कुरिहाराले प्राथमिक विद्यालयको पहिलो कक्षादेखि यो खेल खेल्न थालेका थिए । यसै वर्ष अप्रिलमा कुरिहाराले व्यावसायिक लाइसेन्स पनि प्राप्त गरेका थिए ।
बक्सिङमा नेपाल पदकविहीन
मिसन २६ मा रहेको बक्सिङ टोली २०औँ एसियाडमा पदकविहीन भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तीन वर्षअघि बक्सिङलाई एसियाडमा पदक जित्न सक्ने खेल भनी मिसन २६ मा समावेश गरेको थियो । तर, आशा गरिएका खेलाडीहरू पहिलो वा दोस्रो चरणभन्दा माथि जान सकेनन् । नवीन नेपाल शनिबार प्रारम्भिक चरणमा पराजित भएसँगै बक्सिङतर्फ नेपालबाट सहभागी सबै खेल समाप्त भएको हो । निसियो जिम्नेजियममा पुरुष ९० केजीको स्पर्धामा नवीन थाइल्यान्डका जक्कापोङ योमखोटसँग ५–० को अंकका आधारमा पराजित भए । पुरुष ६० केजी तौल समूहमा खगेन्द्र रोकाय दोस्रो चरणसम्म पुग्न नै यसपटक बक्सिङले प्राप्त गरेको ठुलो सफलता हो । उनी फिलिपिन्सका जुनमिलार्डो ओगायरसँग प्रिक्वार्टरफइनलमा पराजित भएका थिए । उनीबाहेक दानबहादुर दर्लामी (पुरुष ७० केजी), रविन नेपाल (पुरुष ९० केजी), चन्द्रबहादुर थापा (पुरुष ५५ केजी), अस्मिता दुवाल (महिला ५४ केजी), रमिशा श्रेष्ठ (महिला ५१ केजी) र कुसुम तामाङ (महिला ६५ केजी) पहिलो चरणबाटै आउट भएका थिए । चन्द्रबहादुर योपटक सम्भावित पदक जित्ने खेलाडीको सूचीमा थिए । उनी पहिलो चरणमै भारतीय खेलाडीबाट पराजित हुनपुगे ।
एथलेटिक्समा बोहरा १९औँ स्थानमा
नेपाली धावकले एसियाडमा कमजोर प्रदर्शन गरेका छन् । पुरुष म्याराथनमा शनिबार नेपालका धावक खडकबहादुर बोहराले निराशाजनक प्रदर्शन गरे । बोहरा दुई घण्टा २३ मिनेट ४२ सेकेन्डका साथ १९औँ स्थानमा रहे । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार र राजन रोकायले पुरुष १० हजार मिटरमा प्रतिस्पर्धा गरेका थिए । श्रेष्ठ र रोकायले प्रदर्शन गतिलो भएन । मुकेश पालले १५ सय र पूर्ण लक्ष्मीले पनि निराशाजनक प्रदर्शन गरेका छन् । यसैगरी, मुकेश पाल पुरुष १५ सय मिटर दौडमा पहिलो चरणबाटै बाहिरिएका छन् । शनिबार नागोया सिटी मिजुहो पार्क एथलेटिक्स रंगशालामा मुकेश तीन मिनेट ४९.५७ सेकेन्डका साथ हिट १ मा नवौँ स्थानमा रहे । समग्रमा उनले २२ खेलाडी सहभागीमध्ये १६औँ स्थान हासिल गरे । फाइनल चरणमा स्थान बनाउन नसके पनि मुकेशले आफ्नो व्यक्तिगत टाइमिङमा सुधार गरेका छन् । उनले तीन मिनेट ५०.५७ सेकेन्डको व्यक्तिगत टाइमिङमा सुधार गरेका हुन् । अब मुकेशले पाँच हजार, सन्तोषीले पाँच हजार, सोमबहादुर कुमालले आठ सय र पूर्ण लक्ष्मी न्यौपानेले र पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी छ ।
ब्याडमिन्टनमा चुनौती समाप्त
एसियाडमा लगातार कमजोर प्रदर्शनसँगै नेपालको ब्याटमिन्टन टोली पनि पदकविहीन हुँदै घर फर्किएको छ । महिला एकलतर्फ शनिबार रशिला महर्जन र रिहाना शेरचन तथा पुरुष एकलतर्फ क्षितिज खनाल पराजित भएसँगै एसियाडमा नेपालको चुनौती समाप्त भएको हो । रशिला दुईपटककी एसियन च्याम्पियन चीनकी वाङ झी यीसँग २१–४ र २१–२ ले पराजित भइन् । रिहाना श्रीलंकाकी थिनुडी बेहेनागेसँग २१–९ र २१–६ ले हारिन् । पुरुषतर्फ क्षितिज इरानका निमा रोस्तामबाट २१–१४ र २१–९ ले पराजित भए । पहिलो चरणमा क्षितिजले मकाउका खेलाडीलाई हराएका थिए ।
