बुटवल–गोरुसिंगे सडक तीन वर्षमै सक्न चुनौती

६० प्रतिशत पुग्नुपर्ने निर्माण प्रगति २८ प्रतिशतमा सीमित

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

६० प्रतिशत प्रगति हुनुपर्ने समयमा पनि बुटवल–गोरुसिंगे सडक विस्तार आयोजना निर्माणको काम २८ प्रतिशत मात्रै भएको छ । ठेक्का सम्झौताअनुसार ३ कात्तिक ०८४ मा निर्माण सम्पन्न हुन करिब एक वर्ष मात्रै बाँकी छ । तर, यो अवधिमा आयोजनाको वित्तीय प्रगति २३ दशमलव ८७ प्रतिशतमा सीमित छ । अहिलेकै गतिमा काम हुँदा म्यादभित्रै काम सक्न चुनौतीपूर्ण छ ।

निर्माणका क्रममा आवश्यक नदीजन्य सामग्रीको अभाव, विद्युत्का पोल स्थानान्तरणमा भएको ढिलाइलगायतका कारणले आयोजनाको काम प्रभावित भएको बुटवल–गोरुसिँगे सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले विशेषगरी कपिलवस्तु खण्डमा विद्युत्का पोल स्थानान्तरणको काम सुस्त छ । ‘विभिन्न कारणले समग्र निर्माण प्रगति कमजोर देखिएको छ,’ पौडेलले भने, ‘निर्धारित समयमै काम सम्पन्न गर्न अब निर्माणको गति बढाउन आवश्यक छ ।’ उनका अनुसार अहिले रुपन्देही खण्डमा दुई सय ४५ र कपिलवस्तु खण्डमा दुई सय १० जना कामदार दैनिक रूपमा निर्माणस्थलमा खटिएका छन् ।

१३ अर्ब ५५ करोडको ठेक्का, ५० किलोमिटर सडक विस्तार हुँदै

बुटवलदेखि गोरुसिँगेसम्मको करिब ५० किलोमिटर सडक विस्तार भइरहेको छ । निर्माणाधीन ५० किलोमिटर सडकलाई रुपन्देही र कपिलवस्तु गरी दुई खण्डमा विभाजन गरी एकसाथ निर्माण भइरहेको छ ।

सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीसँग ठेक्का सम्झौता भएको हो ।

सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार चार सय ४१ रुपैयाँबराबरको ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । ०८१ कात्तिकमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । त्यसपछि १० माघ ०८१ मा आयोजनाको शिलान्यास गरिएको थियो ।

सुझावित समाचार