ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँध (ड्याम) पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ।
मन्त्रालयअन्तर्गत सिँचाइ विभागको नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको सुक्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएको धाप बाँध तथा यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो।
भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि आयोजनाले बाँधको पछिल्लो अवस्थाबारे स्पष्ट पारेको हो। आयोजनाले केही दिनअघि बाँध क्षेत्रमा देखिएको जोखिम नियन्त्रणमा आइसकेको जनाउँदै त्यसको अवस्थासम्बन्धी भिडियोसमेत सार्वजनिक गरेको छ।
आयोजनाका अनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाब बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह र पानीको आगमनको नियमित निगरानी गरिरहेको छ।
गत भदौ २४ गते साँझ स्याडल ड्याम–१ नजिकै सडक किनारामा पहिरो गएपछि बाँधको सुरक्षाका लागि तत्काल आवश्यक कदम चालिएको आयोजनाले जनाएको छ। सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइँदै आएको छ।
पानी निकासका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा झरेको आयोजनाले जनाएको छ। यस क्रममा कुल सञ्चित पानीको करिब ३५ प्रतिशत सुरक्षित रूपमा निकास भइसकेको छ।
आयोजनाका अनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर हो। आगामी दिनमा भारी वर्षा भई जलसतह उक्त बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवेबाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था गरिएको छ। हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि क्रमशः कम हुने अनुमान गरिएको आयोजनाले जनाएको छ।
पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध निर्माण तथा आपतकालीन व्यवस्थापनका कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
बाँधको सुरक्षा अवस्था र प्राविधिक मूल्यांकन निरन्तर भइरहेको जनाउँदै आयोजनाले हाल कुनै अप्रिय जोखिम नरहेको दाबी गरेको छ। साथै, सर्वसाधारणलाई अनावश्यक त्रासमा नपर्न र बाँधसम्बन्धी जानकारीका लागि आधिकारिक सूचना मात्र विश्वास गर्न आयोजनाले आग्रह गरेको छ।