विभिन्न व्यक्तिको सुनचाँदी चोरी गरी ल्याएको सुन खरिद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले दुई सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका दीपकुमार रसाइली र सुविना सुनचाँदी पसलकी सञ्चालिका निशा विश्वकर्मा रहेका छन्। उनीहरूले अस्मिता श्रेष्ठ (माझी)को कानमा लगाएको सुन चोरी गरी मन्थलीका विभिन्न सुन पसलमा बिक्री गरेको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार उनीहरूको सुन पसलमा छापा मार्दा ४२।२ क्वाइन्ट सुनसमेत बरामद भएको छ। दुवै व्यवसायीलाई जिल्ला अदालत रामेछापबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए।
यसअघि चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुन व्यवसायी सीताराम लामिछाने धरौटीमा छुटेका छन्। सुन चोरीको आरोपमा पक्राउ परेकी गोकुलगंगा गाउँपालिका–२, ठोसेकी मैया कार्की भने प्रहरी हिरासतमा रहेकी छिन्।
प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा चोरी भएका सुनका गरगहना मन्थलीका सुनचाँदी व्यवसायीहरूले खरिद गर्ने गरेको पाइएको छ। चोरीमा संलग्न मैया कार्कीले आफूले चोरी गरी ल्याएको सुन मन्थलीका विभिन्न पसलमा बिक्री गर्ने गरेको बयान दिएकी छिन्। उनको बयानका आधारमा सरकारी वकिलको कार्यालयमा समेत जानकारी गराइएको प्रहरीले जनाएको छ।
सोही बयानका आधारमा प्रहरीले मन्थलीका तीन सुन व्यवसायीलाई पक्राउ गर्नुका साथै पसलबाट चोरीका सामानसमेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यवसायीमाथि पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए।