नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट उत्पादन विद्युत् बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारणलाइनमार्फत प्रणालीमा प्रवाह गरिएको छ । आयोजना र विद्युत् प्राधिकरणबिच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ । परीक्षण उत्पादन १५ दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताए ।
उनले विद्युत्को उच्च माग हुने साँझको समयमा (पिक आवर) दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ । निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट वित्तीय व्यवस्थापन गरिएको हो ।