सल्यानमा स्क्रब टाइफसको संक्रमण बढ्यो, स्वास्थ्यकर्मी घरदैलोमै

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

सल्यानमा स्क्रब टाइफसको संक्रमण बढेपछि स्वास्थ्यकर्मी गाउँ–गाउँ र घरदैलोमै पुगेर परीक्षण तथा उपचारमा जुटेका छन् । दार्मा गाउँपालिका र बागचौर नगरपालिकालगायतका क्षेत्रमा संक्रमण बढ्दै गएपछि रोकथाम, परीक्षण र उपचारका लागि द्रुत प्रतिक्रिया टोली परिचालन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार दार्मा गाउँपालिकामा मात्रै स्क्रब टाइफसका कारण हालसम्म सातजनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी संक्रमित भएका छन् । रोगको पहिचान, उपचार, परामर्श तथा आवश्यक बिरामीलाई थप उपचारका लागि चिकित्सक, प्रयोगशालाकर्मी र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिक्रिया टोली प्रभावित बस्तीमा परिचालन गरिएको जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए ।

दार्माका अतिप्रभावित क्षेत्रमा सञ्चालित तीनदिने स्वास्थ्य शिविरमा ५३२ जनाको प्रयोगशाला परीक्षण गर्दा ११४ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको रिजालले बताए । उनका अनुसार दार्मा गाउँपालिका– १, ५ र ६ मा संक्रमणको प्रभाव बढी देखिएको छ ।

यस्तै, बागचौर नगरपालिका– ५ मा सञ्चालित स्वास्थ्य शिविरमा १० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । शिविरबाट २५४ जनाले सेवा लिएका थिए । स्क्रब टाइफस तथा डेंगुको आशंकामा १११ जनाको रगत परीक्षण गर्दा १० महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको रिजालले बताए । संक्रमितलाई आवश्यक परामर्श र औषधि उपचार तथा अन्य सेवाग्राहीलाई रोगबाट बच्ने उपायबारे जानकारी दिइएको उनले बताए ।

सल्यान जिल्ला अस्पतालका डा. बालाराम केसीका अनुसार स्क्रब टाइफस मुसामा परजीवीका रूपमा रहने माइट नामक सूक्ष्म किराको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । उनका अनुसार खेतबारी, वनजंगल, झाडी तथा घाँसे क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा र बुट लगाउनुपर्छ । भुइँमा सीधै नबस्ने, चउर वा घाँसे क्षेत्रमा बस्दा गुन्द्री वा दरी प्रयोग गर्ने, घरवरिपरि झाडी र घाँस बढ्न नदिने, मुसाको नियन्त्रण गर्ने तथा अन्न सुरक्षित रूपमा भण्डारण गर्ने गरेमा संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाका विभिन्न स्थानीय तहमा परीक्षण, निगरानी तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

सुझावित समाचार