२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कांस्य पदक पक्का

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

नेपाली महिला कबड्डी टोलीले २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा कांस्य पदक पक्का गरेको छ । नागोयाको सिटिजन जिम्याजिममा बिहीबार समूह ‘बी’को खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै कबड्डी टोली सेमिफाइनलमा पुगेको छ । अब नेपालले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको नियमअनुसार सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक पाउनेछ ।

तीन वर्षअघि हाङझाउमा भएको १९औँ एसियामा महिला कबड्डीले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएको थियो । पछिल्लो संस्करणमा नेपालले मेनुका राजवंशीको कप्तानीमा पदक जितेको थियो । मानमती विष्टको कप्तानीमा नेपाली खेलाडी श्रीलंकाविरुद्ध उच्च मनोबलका साथ एरिनामा उत्रिएका थिए । श्रीलंकनविरुद्ध नेपाल हाबी भइरह्यो ।

चाइनिज ताइपेई तीन खेलमा तीनै खेल जित्दै समूह विजेता बनेको छ । नेपालले तीन खेलमा ४ अंक हासिल गर्यो । २ अंक भएको थाइल्यान्ड र अंकविहीन श्रीलंका बाहिरिए । समूह ‘ए’बाट भारत ६ अंकका साथ विजेता बन्यो । इरान ४ अंकसहित उपविजेता बन्यो । बंगलादेशको २ अंक रहँदा आयोजक जापानले अंक जोड्न सकेन ।

मानमती एसियाडको टिम इभेन्टमा कांस्य पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । ‘लगातार देशलाई पदक दिलाउँदा खुसी छु । यो सफलता सबैको योगदानका कारण सम्भव भएको हो,’ श्रीलंकालाई हराएपछि मानमतीले भनिन्, ‘सेमिफाइनलमा भारतविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्छौँ । यसपटक नेपालको लक्ष्य ऐतिहासिक पदकतर्फ हुनेछ ।’ उनका अनुसार नेपालको कबड्डी इतिहासमा भारतलाई हराएर इतिहास रच्ने अवसर छ । बुधबार कराँतेका तेन्जिङ शेर्पाले कुमुते ८४ केजीमा कांस्य हात पारेका थिए । उनले नेपाललाई एसियाडमा पदकविहीन हुनबाट जोगाएका थिए । आशा गरिएको कराँतेसँगै, बक्सिङ र उसुबाट सोचेजस्तो प्रदर्शन नहुँदा नेपालको स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना तुहिएको छ ।

श्रीलंकाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन
महिला कबड्डी खेलाडीले समूह ‘बी’को पहिलो खेलमा थाइल्यान्डविरुद्ध ४६–४३ उत्कृष्ट पुनरामन जित निकालेको थियो । बुधबार चाइनिज ताइपेईसँग नेपाल १७–१८ ले पराजित भयो । तर, तेस्रो तथा निर्णायक खेलमा नेपालले श्रीलंकाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गर्यो । कप्तान मानमतीसँगै गंगा घिमिरे, जयन्ती बडू, सिर्जनाकुमारी थारू, मीना नेपाली, रविना चौधरीलगायत खेलाडी खेलमा हाबी भएका थिए । ‘यही खेलाडी भन्ने नै छैन । सबैले उत्तिकै प्रदर्शन गरेका छन् ।

सबैको मिहिनेतले कम्तीमा कांस्य पदक पक्का भएको हो,’ कप्तान मानमतीले भनिन् । श्रीलंकासँगको प्रतिस्पर्धामा नेपाल पछि परेको थियो । कप्तान मानमतीको अट्याक र जयन्ती बडूको सानदार डिफेन्सपछि नेपाल खेलमा फर्कियो । पहिलो हाफमा नेपालले १९–१३ को अग्रता लियो । दोस्रो हाफमा समेत दबदबा राख्दै समग्रमा नेपालले श्रीलंकालाई ३४–२५ ले हरायो । ‘खेलाडीले सोचेजस्तो राम्रो खेले, तर हामीलाई हराउन सक्छौँ भन्ने थियो,’ प्रशिक्षक पार्वती राईले भनिन्, ‘पछिल्लो समय श्रीलंकासँग नै खेलेका थियौँ । सेमिफाइनलमा हाम्रो भेट भारतसँग नै हो । यसमा हामी सफल हुन खेल्छौँ ।’

पुरुषतर्फ नेपाल विजयी 
पुरुष कबड्डीतर्फ मलेसियालाई हराउँदै नेपालले पहिलो जित निकालेको छ । तोकाई सिटिजनमा समूह ‘बी’को अन्तिम खेलमा नेपालले मलेसियालाई ७३–५२ ले हरायो । पहिलो हाफमा नेपालले ३७–२१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपालले ३६–३१ को अग्रता लिँदै जित निकाल्यो ।

यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएको थियो । घनश्याम रोकामगरको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८, पाकिस्तानसँग ५८–४३ र तेस्रो खेलमा इरानसँग ७६–२३ ले पराजित भएको थियो ।

सुझावित समाचार