भारी वर्षाबाट हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै बसेको जिल्ला विपत् व्यवस्थापन समिति कास्कीको बैठकले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउनेसहित विभिन्न निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले ९ देखि ११ असोजसम्म कास्कीसहित देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरेको छ। सम्भावित विपतबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण र पूर्वतयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले विविध निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार बैठकले भारी वर्षाको आकलन गरिएको अवधिभर रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जोखिमपूर्ण ग्रामीण सडकमा भने अपराह्न ४ बजेदेखि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बैठकले नदी तथा खोला तटीय क्षेत्रमा नजान, अत्यावश्यक अवस्थाबाहेक यात्रामा ननिस्किन, ट्रेकिङ तथा पदयात्रामा नजान र गएकाहरूलाई सुरक्षित साथ फिर्ता गराउने, साहसिक खेल बन्द गराउने, मौसम खराब भएको अवस्थामा जल पर्यटनसम्बद्ध व्यवसाय सञ्चालन नगर्ने, स्थानीय तहले आफ्नो स्थानीय तहभित्र रहेका विद्यालयहरूलाई उच्च सतर्कता अपनाउन सूचित गराउने र आवश्यकताअनुसार विद्यालय बन्द गराउने निर्णय गरेको छ।
त्यस्तै, स्थानीय तहले आफ्नो स्थानीय तहभित्र रहेका जोखिमपूर्ण बस्तीका मानिसहरूलाई स्थानान्तरणका लागि सुरक्षित स्थानहरुको पहिचान गरी स्थानान्तरणका लागि तयारी अवस्थामा रहनेसँगै खोज तथा उद्धार सामग्री, जनशक्ति, उपकरण र राहत सामग्री तयारी अवस्थामा राख्नेलगायतका निर्णय बैठकले गरेको बरालले जानकारी दिए।