नेपाललाई कम्तीमा अर्को कांस्य पदक पक्का, कबड्डी टिम लगातार सफल

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

जापानको आइची नागोयामा चलिरहेको २०औँ एसियाली खेलकुदमा नेपालको कबड्डी टिमले कम्तीमा कांस्य पदक पक्का गरेको छ।

बुधबार तोकाई सिटिजन जिम्याजिउममा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराउँदै पदक पक्का गरेको हो। मानमनी विष्टको कप्तानीमा रहेको नेपाल खेलमा ३४–२५ ले विजयी भयो।

कबड्डी टिमले लगातार दोस्रोपटक एसियाली खेलकुदमा कांस्य पदक पक्का गरेको हो। पछिल्लोपटक १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जितेको थियो। नेपालले २०औँ एसियाली खेलकुदमा लगातार दोस्रो दिन कांस्य पदक जितेको हो। यसअघि बुधबार कराँतेका तेञ्जिङ शेर्पाले कुमुते ८४ केजीमाथि कांस्य पदक जितेका थिए। 

नेपाली खेलाडीहरू कप्तान मानमतीसँगै गंगा घिमिरे, जयन्ती बडू, सिर्जनाकुमारी थारू, मीना नेपाली, रविना चौधरीलगायत खेलाडी चम्किएपछि नेपाल खेलमा हाबी भएको थियो। नेपाल पहिलो हाफमा नेपाल १९–१३ को अग्रता बनाउन सफल भयो। दोस्रो हाफमा समेत दबदबा कायम राख्दै नेपाल जित निकाल्न सफल भएको हो।

यसअघि नेपालले समूह ‘बी’को पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो। अन्तिम समयमा सम्हालिँदै नेपाल महत्त्वपूर्ण दुई अंक हासिल गर्न सफल भएको हो। तर, दोस्रो खेलमा उपाधि दाबेदार रहेको चाइनिज ताइपेईसँग सजिलै ३७–१८ ले पराजित भयो। समूहको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल पक्का गर्दै कांस्य पदकसमेत टुंगो लगायो।

चाइनिज ताइपेई ३ खेलमा तीनै खेल जित्दै समूह विजेता बनेको छ । थाइल्यान्डको तीन खेलबाट दुई अंक छ। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित हुँदा पुछारमा रह्याे। 

समूह ‘ए’बाट समान चार अंक बनाएका इरान र भारत सेमिफाइनलमा पुगेका छन्। इरान जोडेको अंकको आधारमा समूह विजेता बनेको छ। बंगलादेश र आयोजक जापान भने बाहिरिएका छन्। अब, सेमिफाइनलमा नेपाल र इरान तथा भारत र चाइनिज ताइपेईबिच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार