भोटेकोशी बाढीबाट पर्यटनमा ५२ अर्ब ६७ करोडको क्षति

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजारबराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेस गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्युआरटी)का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै क्षतिको तथ्यांक सार्वजनिक गरेका हुन् । प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रका पर्यटन पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटेल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटेल क्षेत्रमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार रुपैयाँबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ एक अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ एक अर्ब ५१ करोड ४० लाख, रेस्टुरेन्टतर्फ एक अर्ब ३८ करोड ५० लाख र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ एक अर्ब २७ करोड ६४ लाखबराबरको क्षति भएको आकलन गरिएको छ ।

आन्तरिक पर्यटन राजस्वमा १० करोड ८७ लाख,  र्याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा पाँच करोड रुपैयाँबराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । बाढी तथा पहिरोमा एक हजार एक सय १७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये तीन सय १० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म सात सय ९४ जना सम्पर्कविहीन रहेकोमा ६ सय ६ जना विदेशी र एक सय ८८ जना नेपाली रहेको जनाइएको छ । 

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । बोर्डका वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए । उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्युआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक एक देखि पाँच करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि सहदेव धमलाले बाढीपहिरोबाट पर्यटन व्यवसाय, होटेल तथा पदमार्गमा ठुलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताए ।

सुझावित समाचार