दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अन्डा, माछामासुलगायतमा चर्को मूल्यवृद्धि गरेका व्यवसायीले सोमबारबाट भाउ नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ, काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा थोक खाद्यान्न व्यापारीको संस्था खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले मूल्य नबढाउने प्रतिबद्धता जनाएका हुन् ।
‘हामीले कारोबार गर्दै आएको दाल, चामल, तेल, चिउरालगायत खाद्यान्नको आजको जुन भाउ छ, यो भाउमा आजदेखि वृद्धि हुँदैन भनेर प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भने, ‘आसन्न चाडपर्वमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र सुलभ मूल्य होस् भन्ने सरकार र हाम्रो साझा चिन्ता छ ।’ उनले मूल्य बढ्न नदिने प्रतिबद्धता जनाउनुअघि नै चामलमा प्रतिबोरा चार सय बढाएर २६ सय पुर्याइसकेको छ । मासको दाल ६० रुपैयाँ र रहर तथा चना दाल प्रतिकिलो २० देखि ३० रुपैयाँ बढेको छ । तेल लिटरमै ३० रुपैयाँभन्दा बढी बढेको छ । आलु र प्याजको भाउ दोब्बरले बढेको छ भने फलफूलको मूल्य अनियन्त्रित छ ।
रसुवामा बाढीपहिरो आउनुअघि खाद्यान्नको भाउ बढेको स्वीकार गर्दै उनले त्यसपछि भने वृद्धि नभएको जिकिर गरे । रसुवा बाढीलगत्तै कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजमार्गबाट ढुवानी गर्दा लागत बढेको र सोही कारण केही वस्तुमा स्वाभाविक मूल्यवृद्धि देखिएको उनले बताए । कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले राष्ट्र बैंककै लक्ष्यभन्दा बढी मूल्यवृद्धि भइसकेको अवस्थामा समेत व्यवसायी र अनुगमनकारी निकाय जिम्मेवार हुनुपर्ने बताए । ‘राष्ट्र बैंकले ५.५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य राखेको छ । तर, चालू आवको पहिलो महिनामा नै मूल्यवद्धि ५.९६ प्रतिशत पुगेको छ,’ उनले भने, ‘सरकारकै तथ्यांकले पनि लक्ष्यभन्दा बढी मूल्यवृद्धि भइसकेको देखाइरहेका कारणले बजार भाउ भयावह छ भन्ने प्रस्ट छ ।’ उनले राष्ट्र बैंकको औसत तथ्यांक भए पनि बजारमा १६ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको दाबी गरे ।
त्यस्तै, बर्डफ्लुका कारण कुखुरा नपाएर खसीको माग बढ्यो भन्दै प्रतिकिलो १२–१३ सय रहेको खसीको मासु १८ सय पुर्याउनु व्यावसायिक चरित्र नभएको उनले बताए । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइँटेलले नियमित बजार अनुगमनबाट मूल्यवृद्धि नियन्त्रणको प्रयास भइरहेको बताए ।
ग्यास आपूर्ति सहज गर्न प्रयत्नशील छौँ : उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले ग्यास आपूर्ति सहज बनाउन प्रयत्नशील रहेको बताएका छन् । सोमबारको संसद् बैठकमा बोल्दै भारतबाट दैनिक एक सय ६० बुलेट ग्यास एक सातासम्म ल्याउन कूटनीतिक पहलसमेत भइरहेको र ग्यास लोडिङ पनि बढिरहेको उनले बताए । ‘सबैको साथ–सहयोग लिएर ग्यास आपूर्ति सहज बनाई जनतालाई राहत दिने प्रयास निरन्तर छ,’ उनले भने ।
ग्यास आपूर्ति तत्काललाई सहज र दीर्घकालीन रूपमा सहज बनाउन मन्त्रालयमा एक समिति गठन गरिएको र दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास तथा वैकल्पिक समाधानका लागि आवश्यक नीति बनाउने काम पनि भइरहेको उनले बताए । ‘तत्कालको समस्या समाधान गरी भविष्यमा यस्तो समस्या आउन नदिने गरी स्थायी प्रणाली विकास गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘ग्यास आपूर्ति सहज गराउन क्विक रेस्पोन्स टिम गठन गरी गुनासो सम्बोधनको प्रयास भइरहेको छ । उद्योगीसँगको छलफलपछि काठमाडौंमा प्रतिदिन ५० हजार सिलिन्डर आपूर्ति गर्ने काम पनि भइरहेको छ ।’