२०औँ एसियाली खेलकुद : एरिका पनि पदकविहीन

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

जापानको नागोया–आइचीमा चलिरहेको २०औँ एसियाली खेलकुदमा स्वर्ण पदकको आशा गरिएकी कराँतेकी एरिका गुरुङ पनि पदकविहीन भएकी छिन्। आइतबार तोयोहासी जिम्यासिंउम हलमा भएको ६८ केजीमाथिको कांस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मोस्तफा दिना अहमदसँग ८–७ ले पराजित भइन्।

एक मिनेटसम्म अग्रता बनाए पनि एरिका मोस्तफासँग पराजित हुन पुगेकी हुन्। मोस्तफाले अन्तिम समयमा दुई अंक हासिल गर्दै एरिकालाई पराजित गरेर कांस्य पदक प्राप्त गरिन्।

एरिकाले गत संस्करण चीनमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। उनी रजत पदक जित्ने तेक्वान्दोकी सविता राजभण्डारी र प्याराग्लाइडिङपछि नेपालको तेस्रो खेलाडी हुन्। समग्रमा कराँतेतर्फ भने पहिलो खेलाडी हुन्।

यसपटक उनीबाट राज्यले कम्तीमा स्वर्ण पदक आशा गरेको थियो। तर, आइतबारसम्म कराँतेबाट पदकको आशा गरिए पनि तीन खेलाडी सेमिफाइनलमा पुगेर चुकेका छन्।

यसअघि ६८ केजीमाथिको सेमिफाइनलमा एरिका कजाखस्तानकी बेरुल्टसेभा साफ्यासँग २–१ ले पराजित भएकी थिइन्। एरिकाले युकोबाट एक अंक हासिल गर्दा सोफ्याले दुई अंक हासिल गर्दै जितको आधार तय गरेकी हुन्।

यो खेलमा एरिकालाई लगातार व्यहोरेको हारको बदला लिने अवसर थियो। तर, उनले पाएको अवसरलाई सदुपयोग गर्न सकिनन्। यसअघि एरिका सोफ्यासँगै चीनमा भएको एसियाड र दुई पटक प्रिमियर लिगको फाइनलमा सोफ्यासँग पराजित भएकी थिइन्।

चौथो भेटमा समेत सोफ्याले आफ्नो प्रभावलाई निरन्तरता दिइन्।  स्वर्ण पदकको आशा गरिएकी २२ वर्षीया एरिका कांस्य पदकमै चित्त बुझाउन पुगिन्। यसअघि एरिकाले प्रिमियर लिग र एसियन च्याम्पियनसिपको रजतलायत अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक जितेकी थिइन्।

जापानमा भएको पहिलो प्रतिस्पर्धामा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। एरिकाले युकोमा एक, वाजा अरीमा तीन अंक जोडेकी थिइन्। याराले भने युकोमा मात्र एक अंक जितेकी हुन्।

सिधै क्वार्टररफाइनल खेलमा अनुभवी एरिकाले उदीयमान जोर्डनी यारासँग प्रतिस्पर्धा गरेकी थिइन्। यसअघि पनि यी खेलाडीबिच प्रतिस्पर्धा भएको थियो। जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कांस्य जितेका थिए ।

सुझावित समाचार