भोटेकोशी बाढीको विपत्तिपछि विदेशी कर्पोरेट टोलीको नेपाल भ्रमण बढ्दै

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण
  • सरकारले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश 

गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जनधनसँगै भौतिक संरचनामा ठुलो क्षति पुर्यायो । प्राकृतिक विपत्तिपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सुरक्षालाई लिएर विभिन्न टीकाटिप्पणी हुन थाले । तर, यहीबिच विदेशी कर्पोरेट तथा पर्यटन व्यवसायीको नेपाल भ्रमण भने बढ्न थालेको छ ।

सरकारले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानमार्फत नेपाल सुरक्षित रहेको र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिरहेका वेला बंगलादेश र श्रीलंकाबाट हालै दुई ठुला टोली नेपाल आएका छन् । उनीहरूको भ्रमणले विपत्तिपछि पनि नेपालप्रति विदेशी पर्यटक तथा पर्यटन व्यवसायीको विश्वास कायम रहेको सन्देश दिएको पर्यटन क्षेत्रका सरोकारवालाको भनाइ छ ।

१ असोजमा बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका एक सय ८५ प्रतिनिधि नेपाल भ्रमणमा आएका थिए । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक तथा प्रवक्ता सुनील शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी टोलीलाई खादा तथा ढाकाटोपी लगाएर स्वागत गरेका थिए ।

‘नेपाल कलिङ’ अभियान सुरु भएपछि बंगलादेशबाट आएको यो ठुलो कर्पोरेट टोलीको भ्रमणले सकारात्मक सन्देश दिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक शर्मा बताउँछन् । प्राकृतिक विपत्तिपछि पनि विदेशी कर्पोरेट समूहले नेपाललाई भ्रमण गन्तव्यका रूपमा रोज्नुले नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास कायमै रहेको संकेत गर्ने उनको भनाइ छ । बंगलादेशी पाहुनाले नेपाल पर्यटन बोर्डले गरेको स्वागतप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित रहेको, पर्यटकका लागि खुला रहेको र विदेशी पाहुनाको स्वागतका लागि तयार रहेको बताएका थिए । उनीहरूले अन्य पर्यटकलाई समेत नेपाल भ्रमणका लागि आउन आह्वान गरेका छन् । वाल्टन प्लाजाको भ्रमणले नेपाल र बंगलादेशबिचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, श्रीलंकाका करिब एक सय ५० जना पर्यटन व्यवसायी पनि नेपाल आएका छन् । रुप्से होलिडेजको समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका दुई प्रमुख पर्यटन संस्था ‘ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका’ र ‘एजेन्ट्स एसोसिएसन’को वार्षिक साधारणसभामा सहभागी हुन श्रीलंकाबाट टोली काठमाडौं आएको हो ।

रुप्से होलिडेजका संस्थापक एवं नाट्टाका सचिव रमेश पराजुलीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारी प्रयाससँगै निजी क्षेत्रको प्रत्यक्ष पहल पनि आवश्यक रहेको बताए । श्रीलंकाली पर्यटन व्यवसायीहरू आफ्ना देशमा पर्यटकलाई गन्तव्य सिफारिस गर्ने महत्वपूर्ण माध्यम भएकाले उनीहरूले नेपालको वास्तविक अवस्था प्रत्यक्ष रूपमा अनुभव गरेपछि आफ्ना ग्राहकलाई नेपाल भ्रमणका लागि सिफारिस गर्न सहज हुने उनको भनाइ छ ।

प्राकृतिक विपत्तिपछि विदेशी कर्पोरेट टोली तथा पर्यटन व्यवसायीको निरन्तर नेपाल आगमनले पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, उनीहरूको प्रत्यक्ष भ्रमणमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्नसमेत मद्दत पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।

सुझावित समाचार