कराँते काता खेलाडी सानुमाया थिङ र उसु खेलाडी विजय सिञ्जाली जापानको नागोया–आइचीमा चलिरहेको २०औँ एसियालीको आफ्नो पहिलो खेलमै पराजित भएका छन् । आइतबार पहिलो खेलमै पराजित भएसँगै दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । दुवै खेलाडीबाट राज्यले पदकको आशासमेत गरेको थियो । तर, दुवै खेलाडी पहिलो चरणबाट माथि बढ्न सकेनन् ।
गिफु प्रिफेक्चरस्थित तोयोहाशी जिम्नेसियममा अन्तिम १६ को प्रतिस्पर्धामा सानुमाया दक्षिण कोरियाकी चो हाउनसँग ५–० को सोझो अंकले पराजित भइन् । खेलकुदअन्तर्गत कराँतेका खेलहरू आजबाट सुरु भएका छन् । सानुमायाको यात्रा क्वार्टरफाइनलबाट माथि बढ्न सकेन । अब, उनीसँगै अलिशा रास्कोटी मगर र मेघा लिम्बूको टिमतर्फ चुनौती दिनेछन् ।
यता, अर्को पदकको सम्भावना बोकेका उसु खेलाडी विजय सिँजाली पनि २०औँ एसियाली खेलकुदको पहिलो चरणबाटै बाहिरिएका छन् । आइचीको मार्सलआर्ट हलमा चाङ्सेन प्रतिस्पर्धामा विजयसहित २१ खेलाडी सहभागी भएका थिए । जसमा विजयले मात्र १९औँ स्थानमा रहे । उनीबाट नेपालले पदकको आशा गरेको थियो । यसअघि उनले उसुको विश्वकपमा थाउलोतर्फ ऐतिहासिक कांस्य पदक जितेका थिए ।
आइतबारको प्रतिस्पर्धामा विजयले कुल ९.१४६ अंक मात्र हासिल गरेका थिए । क्वालिटी अफ मुभमेन्टतर्फ ४.७०, २.६४६ र १.८० अंक जोडेका हुन् । यो विधामा मकाउका क्वोङ सिएचले ९.७२३ अंकसहित स्वर्ण पदक जितेका थिए । मकाउकै सङ सिके ९.७२० अंकसहित रजत पदक र इन्डोनेसियाकी सिरेगार एसएनले पनि ९.७२० अंकै ल्याई कांस्य पदक हात पार्न सफल भएका छन् ।