एसियाडको व्यवस्थापन भद्रगोल

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण
  • २०औँ संस्करणको एसियाड शनिबार औपचारिक उद्घाटन हुनुअघि जापान पुगेका विभिन्न देशका खेलाडी तथा प्रतिनिधिमण्डलले अस्थायी आवास, साना पलङ, यातायात र एक्रिडिटेसनको सास्ती व्यहोर्नुपरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले उल्लेख गरेको छ

३२ वर्षपछि एसियन खेलकुद प्रतियोगिता (एसियाड) आयोजनाको अवसर पाएको जापानले पाहुनाका लागि उत्कृष्ट व्यवस्थापन सेवा दिन सकेन । जापानको आइची र नागोयामा शनिबारदेखि २०औँ संस्करणको एसियाड हुँदै छ । औपचारिक उद्घाटन हुनुअघि जापान पुगेका विभिन्न देशका खेलाडी तथा प्रतिनिधिमण्डलले अस्थायी आवास, साना पलङ, यातायात र प्रवेश पास (एक्रिडिटेसन)को सास्ती व्यहोर्नुपरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले उल्लेख गरेको छ ।

एसियाडमा सहभागी हुन पुगेको दक्षिण कोरिया, भारत, फिलिपिन्सलगायतका टोलीले आयोजकको फितलो व्यवस्थापनप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । उद्घाटन समारोह व्यवस्थापनका प्रमुख हिडेकी ओमुराले आएका समस्यालाई तत्कालै समाधान गर्ने बताएका छन् । ‘यदि एसियाडमा आएका पाहुनाले समस्या भोगिरहेका छन् भने हामी तत्कालै समाधान प्रयास गर्छौँ,’ ओमुराले एएफपीलाई भने ।

ठुलो समस्या आवासकै 
जापानले खर्च कटौती गर्ने भनेर र नयाँ प्रयोगका रूपमा खेलाडी तथा अफिसियललाई ‘क्रुज’ समुद्री जहाजलाई एथलेटिक्स भिलेजका रूपमा प्रयोग गरेको छ । यसअघिका संस्करणमा आयोजकले खेलाडी र अफिसियललाई भिलेजमा राख्दै आएको थियो । तर, जापानले भने नयाँ प्रयोग गर्दा खेलाडीले क्रुजभित्र राम्रोसँग बस्न नपाएको एएफपीले उल्लेख गरेको छ । यसमा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अस्थायी आवास र छोटा पलङबारे सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको छ ।

क्रुजमा उपलब्ध भएको खाट औसत लम्बाइ ६ फिट रहेको छ । तर ६ फिटभन्दा अग्ला खेलाडीले आराम गर्दा खुट्टा खुम्च्याउनुपरेको अवस्था छ । दक्षिण कोरियाली बास्केटबल संघका उपाध्यक्ष जुङ योङले आफ्ना खेलाडी जापान आएदेखि राम्रोसँग सुत्न नपाएको बताए । ‘क्रुजमा सुविधा भनेको जस्तो छ, तर यहाँ सुत्ने कोठा भने निकै सानो रहेको छ,’ जुङले भने, ‘सबैभन्दा ठुलो समस्या भनेको खाट हो । बास्केटबलका अग्ला खेलाडीले खुट्टा तन्काएर सुत्न पाइरहेका छैनन् ।’ यसैगरी, फिलिपिन्सका खेलाडीले कोठा पाएका छन् । तर, उनीहरूले पनि दक्षिण कोरियाली खेलाडीले जस्तै समस्या भोगिरहेका छन् ।

कोठा पाउन घण्टौँ पर्खाइ
भारतीय रोइङ टोली क्रुजमा बिहीबार बिहान ९ बजे पुगेको थियो । तर, उनीहरूले आ–आफ्ना कोठा पाउन ११ घण्टा प्रतीक्षा गर्नुपरेको थियो । आठजना खेलाडीको नाम आयोजकको दर्ता सूचीमै नरहँदा अर्को समस्या उत्पन्न भएको थियो । भारतबाट प्रकाशित हुने ब्रिजनेस स्ट्यान्डर्ड पत्रिकाले रोइनिङ खेलाडीले कोठादेखि कार्ड पाउनसम्म प्रतीक्षा गर्नुपरेको उल्लेख गरेको छ । ‘भारतबाट सहभागी रोइङका खेलाडी तथा अफिसियलले कोठा सहज पाउन सकेनन् । ओलम्पिकपछिको ठुलो प्रतियोगितामा आयोजकले कमजोर व्यवस्थापन गरेको देखिन्छ,’ ब्रिजनेस स्ट्यान्डर्डले भनेको छ, ‘हामीले सम्बन्धित निकायलाई यसको जानकारी गराएका छौँ ।’ यसैगरी, भारतीय सुटिङ टोलीले पनि आधिकारिक एक्रिडिटेसन कार्ड पाउन प्रतीक्षा गरेको थियो । सुटिङका प्रमुख प्रशिक्षक समरेज जङले केही खेलाडीको कार्ड नै सूचीमा नरहेको बताए । ‘हाम्रो सुटिङ मात्र नभएर उसु र टेनिसका खेलाडीले पनि यस्तै समस्या भोगे,’ समरेजले भने । लामो पर्खाइका क्रममा आयोजकले पानी मात्र उपलब्ध गराएको र उचित खाना नदिएको उनले बताए । ‘भारतबाटै ल्याइएको खानेकुरा खानुपरेको थियो,’ उनले भने । 

नाजवाफ आयोजक
एसियाडमा सहभागी धेरैजसो खेलाडी तथा अफिसियलले जापानको व्यवस्थापन र हाङझाउसँग तुलना गर्न नसकिने बताएका छन् । तीन वर्षअघि चीनले आयोजना गरेको एसियाडमा खेलाडी, अफिसियल र दर्शकलाई उत्कृष्ट सुविधा प्रदान गरेको थियो । चीनले होटेल, यातायात तथा अन्य सुविधा भनेको जस्तो बनाएको थियो । तर, जापानले खर्च कटौतीको नाममा आफ्नो क्षमताअनुसार काम गर्न नसकेको आरोप पाहुना खेलाडीले लगाएका छन् । आयोजक समितिका आवास व्यवस्थापक मात्सुओले खेलाडी प्रतिनिधिमण्डलका असन्तुष्टि र चिन्ताबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको बताएका छन् । यद्यपि, तत्काल यसको समाधान गर्न नसकिने उनले जनाए । ‘खेलाडीको बसोवासको वातावरण सुधार्नका लागि ठोस कदम तत्कालै सुरु हुनेछ,’ उनले भने । आयोजक समितिका अध्यक्ष ओमुराले प्राप्त फरक मत र गुनासामाथि उपयुक्त सम्बोधन गरिने स्पष्ट पारेका छन् ।

See More On

सुझावित समाचार