लगानीकर्ताद्वारा पुँजीबजार सुधार कार्ययोजनाको स्वागत

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

पुँजीबजारलाई गति दिँदै अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले सरकारले ल्याएको ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ लाई लगानीकर्ताले स्वागत गरेका छन् । अर्थ मन्त्रालयले सोमबार जारी गरेको कार्ययोजनामा पुँजीगत लाभकर घटाउनेदेखि, घाटा समायोजन गर्ने, सेयर होल्डिङ अवधि घटाएर ४५ दिनमा झार्नेलगायतका २१ बुँदा समावेश छन् ।

बजार निरन्तर घट्दै जाँदा र लगानीकर्ता बाहिरिने क्रमबिच आएको कार्ययोजनाले पुँजीबजारको संरचनात्मक सुधार हुने लगानीकर्ताको विश्वास छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले उक्त कार्ययोजना पुँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण नीतिगत पहल भएको बताउँछन् ।

‘दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन सय ६५ दिनभन्दा बढी अवधिसम्म होल्ड गरिएको धितोत्रपबाट ३.७५ प्रतिशत तथा तीन सय ६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा पाँच प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक छ,’ ढकालले भने । उनका अनुसार यसले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पुँजी बजारको दिगो विकासमा टेवा पुर्याउनेछ ।

कार्ययोजनामा आइपिओ तथा प्राइस डेलिभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ, सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड मार्केट विकास गर्ने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने विषय पनि कार्ययोजनामा समेटिएका छन् । ढकालका अनुसार यी बुँदासहित संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने, नेप्से, सिडिएससी, धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिनुले पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्नेछ ।

ढकालले सरकारले घोषणा गरेका सुधार समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पुँजीबजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पुँजीबजारको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि अर्थ मन्त्रालयले जारी गरेको कार्ययोजनाले दीर्घकालीन पुँजीबजार विकास र विस्तार गर्दै अर्थतन्त्रलाई ऊर्जा दिने बताए । उनका अनुसार २१ बुँदे कार्ययोजनाले पुँजीबजारमा ठुला र दीर्घकालीन लगानीकर्ताका साथसाथै बजारको तरलता र डेप्थ बढ्नेछ भने बजार थप व्यावसायिक र स्थिर बन्न सहयोग पुग्नेछ । ‘यसरी अर्थ मन्त्रालयबाट पुँजीबजार प्रोत्साहनका लागि सबैतिरबाट लचिलो भएको छ,’ उनले भने, ‘यसबाट सुस्ताएको अर्थतन्त्र पुनः चलायमान हुने अपेक्षा छ ।’

त्यसैगरी, उद्यमी एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पनि सरकारले ल्याएको कार्ययोजना दीर्घकालीन पुँजी बजार विकास र विस्तारको कोसेढुंगा हुने बताए । ‘पछिल्लो तीन–चार महिनादेखि बजारले नजानिँदो तवरले आफ्नो गन्तव्य बनाएको थियो,’ उनले सामाजिक सञ्चालमार्फत भनेका छन्, ‘आज (मंगलबार) अपवाद छोडेर त्यसैलाई गज्जबसँग निरन्तरता दियो । राम्रो नीतिले गन्तब्यमा ढिलो चाँडो अवश्य पु¥याउँछ ।’

नेप्से ४८ अंकले बढ्यो, कारोबार दुई महिनायताकै उच्च
सरकारले ल्याएको कार्ययोजनाले मंगलबार सेयर बजारमा उत्साह फैलियो । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा कायम भएको छ । यो एक महिनायताकै उच्च हो । यसअघि भदौ १ मा नेप्से २६४१.८२ विन्दुमा थियो ।

सो दिन नेप्सेसँगै कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । दुई करोड तीन लाख कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसअघि असार ३० गते आठ अर्ब ४१ करोड ७५ लाखको धितोपत्र किनबेच भएको थियो ।

त्यस्तै, समूहगत सूचकतर्फ नेप्सेका १३ वटै समूह बढेका छन् । वित्त, लगानी, जीवन बिमा, निर्जीवन बिमा र अन्य समूहमा दुई प्रतिशतभन्दा धेरै वृद्धि हुँदा बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र म्युचुअल फन्ड एक प्रतिशतभन्दा धेरैले बढेका हुन् ।

मंगलबार धौलागिरि घलुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमशः १४.९६ प्रतिशत र ११.०३ प्रतिशतले कमाएका छन् । यसैगरी, मल्टिपर्पोज फाइनान्स, जानकी फाइनान्स र मिडसोलु हाइड्रो ९.७३ प्रतिशतदेखि ६.६७ प्रतिशतले बढेका छन् । उच्च अंकले बढेको बजारमा एभरेस्ट बैंक र केबिएल डिबेन्चर भने क्रमशः ५.५५ प्रतिशत र तीन प्रतिशतले ओरालो लागे ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्षस्थानमा छ । मंगलबार मात्रै यो कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लगानीकर्ताले नाफा बुक गर्ने मेलोमा उक्त कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ ।

साथै, शिवम् सिमेन्टको ३१ करोड ५६ लाख, अपि पावरको २८ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड २९ लाख र लिबर्टी इनर्जीको २७ करोड ३३ लाखबराबरको सेयर किनबेच भएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष  सागर ढकाल भन्छन्–
पुँजीबजार सुधार कार्ययोजनाले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पुँजीबजारको दिगो विकासमा टेवा पुर्‍याउनेछ । साथै, पुँजीबजार थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बन्नेछ ।

सुझावित समाचार