साफ च्याम्पियनसिपमा नेपालबाहेकको तालिका सार्वजनिक

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण
  • फिफाले गत ११ असारमा नेपालमाथि अनिश्चितकालीन निलम्बन गरेको दिनदेखि राखेप र एन्फा छलफलमै बसेका छैनन् । खेलाडीको भविष्यमाथि खेलबाड गरेका छन् ।

फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखी दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पुरुष च्याम्पियनसिपको खेलतालिका मंगलबार सार्वजनिक गरेको छ । फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै गत ११ असारमा नेपालमाथि अनिश्चितकालीन निलम्बन गरेको छ ।

महासंघले साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक गर्दा निलम्बन फुकुवा भएको अवस्थामा नेपाललाई अन्तिम समयसम्म समावेश गराउन सकिने भनी स्थान छाडेको छ । गत १ अगस्टमा भुटानको थिम्पुमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो । साफ सचिवालयका अनुसार ३० सेप्टेम्बरभित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’ रहने जनाएको छ । महासंघले डेटलाइनका १५ दिनअघि नै साफले खेलतालिका सार्वजनिक गरेको हो । 

साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधित खेलतालिका सार्वजनिक गर्ने प्रतिबद्धता दिएको छ । महासंघले बारम्बार नेपाललाई साफ च्याम्पियनसिपमा सहभागी गराउने बारम्बार जानकारी गराउँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गर्ने सम्बन्धमा फिफासँग समन्वयनसमेत गरेका छैनन् । फिफाले लगाइएको प्रतिबन्ध दिनदेखि यी दुई निकायबिच वार्तासमेत भएका छैनन् । 

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक हुँदासम्म दुवै पक्ष मूकदर्शक भएर बसेका छन् । जसका कारण यसपटक नेपाली खेलाडीहरूले प्रतियोगिता गुमाउने निश्चितझैँ देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद प्रतियोगितामा प्रमुख अतिथि भएर सहभागी हुँदा फिफासँग संवाद सकारात्मक रहेको र छिट्टै नेपालमाथिको प्रतिबन्ध फुकुवा हुने अभिव्यक्ति दिँदै आइरहेका छन् । तर, मन्त्री पोखरेलले नेपालमाथिको निलम्बन तीन महिना हुनलाग्दा पनि कुनै प्रयास गरेका छैनन् । सेप्टेम्बर अन्तिमसम्म प्रतिबन्ध नहटे नेपालले साफ च्याम्पियनसिप गुमाउने सम्भावना छ । इतिहासमै पहिलोपटक नेपाली खेलाडी साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित हुनेछन् । 

फिफाबाट निलम्बन भएयता घरेलु फुटबल ठप्पजस्तै छ । अहिले खेलाडीले खेल्न पाएका छैनन् । प्रशिक्षकहरू प्रशिक्षण र रेफ्री खेल खेलाउन पाइरहेका छैनन् । सन् २०२१ मा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनल पुग्नु नै अहिलेसम्मकै ठुलो उपलब्धि हो । त्यसबाहेक नेपालले एकपटक तेस्रो स्थान हासिल गर्दा दुईपटक चौथो स्थान हात पारेको थियो । 

सुझावित समाचार