नयाँ पत्रिकाकर्मी पराजुली सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी रोहितराज पराजुली ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८२’ बाट  पुरस्कृत भएका छन्। मोफसलकै प्रतिष्ठित सहारा क्लब पोखराले स्थापना एवं सञ्चालन गरेको सो पुरस्कार क्लबको २८औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित २८औँ वार्षिकोत्सव समारोहमा पराजुलीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, क्लबका अध्यक्ष केशवबहादुर थापा, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीलगायतले नगद ३० हजार ५५५ रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित पराजुलीलाई पुरस्कृत गरेका थिए।

यो पुरस्कार खेल पत्रकारिता विधामा नेपालमै पहिलो पुरस्कारको रूपमा मानिन्छ। क्लबका मानार्थ सदस्य नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिस क्लबको कार्यसमितिले अनुमोदन गरेसँगै पराजुलीलाई पुरस्कृत गरिएको हो।

पुरस्कार वितरणपछि मन्त्री गुरुङले सरकारले गर्न नसकेको काम गरिरहेको भन्दै क्लबको प्रशंसा गरेकी थिइन्। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू राखेर विगत २५ वर्षदेखि एकेडेमी सञ्चालन गर्नु सानो काम नभएको भन्दै उनले यस्ता एकेडेमी सरकारले सञ्चालन गर्नुपर्नेमा सहाराजस्तो सामाजिक संस्थाले सञ्चालन गरेको भन्दै क्लबले गरेको उदाहरणीय काम सरकार र अन्य सामाजिक संघसंस्थाले सिक्न आवश्यक रहेको बताएकी थिइन्।

पत्रकारितामार्फत खेल क्षेत्रका बारेमा निरन्तर कलम चलाउने, खेल क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित पुरस्कारको स्थापना गरिएको क्लबका अध्यक्ष थापाले जानकारी दिए। ०६३ सालमा स्थापना गरिएको पुरस्कार क्लबको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष एकजना पत्रकारलाई प्रदान गर्दै आएको अध्यक्ष थापाले बताए।

२०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारका रुपमा पत्रकारिताको यात्रा सुरु गरेका थिए। त्यसपछि जनमत दैनिक, रेडियो बाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध रहँदै पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। विशेष गरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने पत्रकारका रूपमा पराजुली परिचित छन्।

पराजुली यसअघि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तर्गत उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकले प्रदान गर्ने अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार- २०८२ बाट पुरस्कृत एवं सम्मानित भइसकेका छन्।

कार्यक्रममा क्लबका सदस्यहरूमध्येबाट सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य–२०८२’ बाट सम्मान गरिएको थीयो ।

सुझावित समाचार