दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पुरुष च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ। मंगलबार साफले सार्वजनिक गरेको तालिकाअनुसार बंगलादेशमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित भारत र पाकिस्ताबिच प्रतिस्पर्धा हुने भएको छ।
५ नोभेम्बरबाट सुरु हुने प्रतियोगितामा नेपालको नाम भने राखिएको छैन। फिफा निलम्बन फुकुवा नभएपछि साफले नेपालको नाम नराखेको हो। तोकिएको मितिमा निलम्बन फुकुवा भए नेपालले पनि सहभागिता जनाउन भने पाउनेछ।
साफले नेपालको सहभागिता सुनिश्चित भए तालिका पुनः परिमार्जन गर्दै नोभेम्बर ४ देखि प्रतियोगिता सुरु गर्ने सम्भावना रहेको बताएको छ।
साफले प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान छन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र पाकिस्तान छन्। समूह चरणका खेल ११ नोभेम्बरसम्म हुनेछ। १४ नोभेम्बरमा सेमिफाइनल तथा १६ नोभेम्बरमा फाइनल खेल हुनेछ।
सन् २०२१ मा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो। हालसम्म नेपालको यो नै ठुलो उपलब्धि हो। त्यसबाहेक नेपालले एकपटक तेस्रो स्थान हासिल गर्दा दुईपटक चौथो स्थान र तीन संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।