नेप्से ४८ अंकले बढ्यो, कारोबार रकम आठ अर्बमाथि

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

मंगलबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४८.५७ अंक बढेर दुई हजार ६३३.६२ विन्दुमा कायम भएको हो। नेप्से १.८७ प्रतिशतले उकालो लाग्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले वृद्धि भएको छ।

आज कारोबार रकमसमेत उच्च अंकले बढेको छ। दुई करोड तीन लाख कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

आज नेप्सेका १३ वटै समूहको सूचकसमेत वृद्धि भएको छ। वित्त, लगानी, जीवन बिमा, निर्जीवन बिमा र अन्य समूहमा दुई प्रतिशतभन्दा धेरै वृद्धि हुँदा बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लघुवित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा धेरैले बढेका छन्।

मंगलबार धौलागिरी घलुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमशः १४.९६ प्रतिशत र ११.०३ प्रतिशतले कमाएका छन्। यसैगरी, मल्टिपर्पोज फाइनान्स, जानकी फाइनान्स र मिडसोलु हाइड्रो ९.७३ प्रतिशतदेखि ६.६७ प्रतिशतले बढेका छन्।

उच्च अंकले बढेको बजारमा एभरेस्ट बैंक र केबिएल डिबेन्चर भने क्रमशः ५.५५ प्रतिशत र ३ प्रतिशतले ओरालो लागेका छन्।

सुझावित समाचार