बैतडीकाे पुरचौडी नगरपालिका– ८ स्थित लामुनी गाउँमा सोमबार राति पहिरो जाँदा एक घरमा क्षति पुगेको छ । बस्तीमाथिबाट आएको पहिरोले थप सात घरपरिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट ठुलो चट्टान खस्दा स्थानीय गणेश जोशीको घर पहिरोबाट पूर्ण रूपमा क्षति भएको र पशुचौपाया घरभित्र च्यापिएका छन् ।
पहिरोको आवाज सुन्दा घरभित्र रहेका दुईजना भागेर ज्यान जोगाउन सफल भएको स्थानीय पदम जोशीले बताए । उनका अनुसार परिवारका अधिकांश सदस्यहरू तिज मनाउन गएका वेला राति नौ बजेको सयममा पहिरो खसेको थियो ।
लामुनी गाउँको पश्चिमतर्फ दसकौँअघि ठुलो पहिरो गइरहेको थियो । सोमबार राति चट्टानको ठुलो भाग घरमाथि खसेर एउटा घरमा क्षति पुर्याएपछि पहिरोको त्रासले उक्त टोलका सात परिवारले घर छोडेर रातभरि त्रिपालमुनि बसेको स्थानीय हरिश जोशीले बताए । उनले भने, ‘नौ बजे पहिरो खस्यो, त्यसपछि सबैजना गाउँ छोडेर भाग्यौँ, त्रिपालमुनि बसेर रात बितायौँ।’
मंगलबार बिहान डेढ घण्टाको दूरीमा रहेको पुरचौडी हाटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरीले घरमा पुरिएका चौपायाहरू निकाल्ने काम गरिरहेको छ ।
पहिरोका कारण स्थानीय रघुनाथ जोशी, दत्तराम जोशी, बलदेव जोशी, पर्मानन्द जोशी, हिरा जोशी, चन्द्रदेव जोशी, गोविन्द जोशी र काशी भण्डारीको घर उच्च जोखिममा परेका छन् ।
गाउँमाथि घरभन्दा ठुलो ढुंगा खसेर क्षति पुगेको र अझै ठुलो चट्टान जुनसुकै वेला पनि खस्न सक्ने अवस्थामा रहेको घटनास्थल पुगेको प्रहरीले बताएको छ । पुरघाट प्रहरी चौकीबाट घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक रूपसिंह साउदले बिहानैदेखि आफूहरू उद्धारमा खटिएको बताए ।