जग्गा नापी भएको करिब १२ वर्षपछि सिराहाको गोलबजार नगरपालिका– २, लालपुर वडा कार्यालयले सम्बन्धित व्यक्तिको भोगचलनमा रहेको गाउँ ब्लक जग्गाको साँध सीमाना छुट्याएर निवेदन दिन सातदिने सूचना जारी गरेको छ।
गोलबजार– २ वडा कार्यालयले सूचना जारी गर्दै साबिक लालपुर गाविस २, ३, ४, ५, ६, ७ र ८ नं. वडाका गाउँ ब्लक जग्गा भोगचलन गरिरहेका जग्गाधनीलाई सात दिनभित्र वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो। गोलबजार– २ का वडाध्यक्ष सुकदेव सिंहका अनुसार लहानस्थित नापी कार्यालय पुगेर निवेदन दिन अतिरिक्त खर्च र समय लाग्नुका साथै कागजात तयार गर्न व्यवहारिक रूपले झन्झिटलो हुने भएकाले वडा कार्यालयमै निवेदन लिने व्यवस्था गरिएको हो।
‘वडाको निरन्तरको समन्वय र पहलमा लहानबाट नापी कार्यालयका कर्मचारीलाई वडामै ल्याएर गाउँ ब्लक जग्गा दर्ताको प्रक्रिया अघि बढाउन निवेदन लिन लागेका हौँ,’ उनले भने, ‘जग्गाधनीको सहजताका लागि वडाले तयार गरेको निवेदनमा सहीछाप गराएर नेपाली नागरिकताको प्रतिलिपि, २ नं. नापी टोलीबाट प्रकाशित सूचना, १० रुपैयाँको टिकटसहित फाइलमा निवेदन लिने व्यवस्था गरेका छौँ।’ उनका अनुसार २९ भदौदेखि अगामी एक सातासम्म कार्यालय समयमा सम्बन्धित जग्गाधनीबाट भोगचलनमा रहेको गाउँ ब्लक जग्गा दर्ताका लागि निवेदन लिइँदै छ।
राज्य पुनर्संरचनाअघि आर्थिक वर्ष २०७१/७२ मा साबिक लालपुर गाविसअन्तर्गत २ देखि ८ नं. वडासम्म २७ कित्ताको करिब २० बिघा गाउँ ब्लक जग्गा नापी भएको उनले बताए। उनका अनुसार साबिक लालपुर २ को कित्ता नं. ४५ र १०६, वडन नं ३ को १५, १८, २७, ५६ र १५७, वडा नं ४ को १०३ र १०७ नम्बर कित्ता गाउँब्लक जग्गा नापी भएको थियो। त्यस्तै, वडा नं ५ को ५४, ७३, १४७ र १६१, वडा नं ६ को १६, २०, २५, ४० र ११४ नम्बर कित्ता, वडा नं ७ मा १, ६ र ४३ तथा ८ मा ४१, ६५, ७२, ७६, ८५, १४० नं. कित्ता गाउँ ब्लक जग्गा नापी भएको थियो।
नापी भएको एक दशक बढी बित्दा समेत जग्गाधनी दर्ता प्रक्रिया अघि नबढ्दा स्थानीय बासिन्दा आफ्नो भोगचलनमा रहेको जग्गाको स्वामित्वबाट वञ्चित हुँदै आएका उनले बताए।
के हो गाउँ ब्लक जग्गा ?
गाउँ ब्लक क्षेत्रको नापजाँचसम्बन्धी निर्देशिका २०७७ मा गाउँ ब्लक भन्नाले सुरु नापीको फिल्डबुकमा कित्ता कायम भई गाउँ ब्लक, गाउँ, सहर, सहरी क्षेत्र, बजार क्षेत्र, बजार, मिनही, डिही, घरबास कोटी, भखारी, स्वबासी, बेनिस्सा, बास जनिएको वा सुरु नापी हुँदा ब्लकभित्र विभिन्न कित्ताहरू कायम भएको र हकभोगमा जनिएको दर्ता हुन बाँकी रहेको क्षेत्र रहेको उल्लेख छ।
निर्देशिकामा दर्ता बाँकी वा फिल्डबुकमा गाउँ ब्लक जनिने शब्द उल्लेख नभई फिल्डबुक खाली रहेको, तर परापूर्वकालदेखि गाउँबस्ती रहेको प्रमाणित हुने आधार भएको क्षेत्र वा सुरु नापी हुँदा गाउँब्लक क्षेत्र ठुलो भएको कारणबाट कित्ता कायम नगरिएको, तर नक्साको मार्जिनमा गाउँ, नगर, बजार वा सहरी ब्लक कायम भएको ब्यहोरा उल्लेख भई उक्त ब्लकको वरिपरिका नक्साहरू जोडी भिडाउँदा ब्लकको स्वरूप देखिने र परापूर्वकालदेखि बस्तीको रूपमा रहेको ब्लक क्षेत्र वा नेपाल सरकारको निर्णयबाट गाउँ ब्लक क्षेत्र भनी निर्धारण गरिएको क्षेत्रलाई गाउँ ब्लक भनिएको छ।