मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गतको चार सय केभी क्षमताको १८ किमि लामो न्यु बुटवल–नेपाल भारत सीमापार प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । एमसिसी अनुदानअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र दुई सडक गरेर नौ परियोजना बन्दै छन् । त्यसमा पहिलो परियोजनाका रूपमा आइतबार १८ किमि लामो सीमापार प्रसारणलाइनको निर्माण सम्पन्न भएको हो ।
मिलिनियम च्यालेन्ट एकाउन्ट (एमसिए) नेपालले आइतबार सुनुवलमा एक औपचारिक कार्यक्रम गर्दै प्रसारणलाइनको निर्माण सम्पन्न भएको घोषणा गरेको हो । परियोजना निर्माण गर्न १४ भदौ ०८१ मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग एक करोड २३ लाख ६० हजार डलरमा ठेक्का सम्झौता भएको थियो । आवश्यक अध्ययन तथा सर्वेक्षण गरेर कम्पनीले १० मंसिरमा भौतिक निर्माणको काम सुरु गरेको थियो । त्यसको साढे नौ महिनामा निर्माणकार्य सकिएको हो । यस प्रसारणलाइनमा ५२ वटा टावर निर्माण भएका छन् ।
कार्यक्रममा अर्थसचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसिसीबिचको साझेदारीप्रति कृतज्ञता व्यक्त गरे । उनले भने, ‘हामी यस उपलब्धिप्रति गर्व गर्छौँ र नेपालको विकासका लागि भएको यस साझेदारीबाट प्राप्त हुने लाभका लागि हामी बाटो हेर्दै छौँ ।’
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेलले यस निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिबिम्बित भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकाम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस परियोजनाबाट बृहत् लाभ लिन सकिने बताए । ‘यस प्रसारणलाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो । नेपाल सरकारको अनुरोधलाई सम्बोधन गर्दै समयसीमाभित्रै निर्माणकार्य पूरा गर्नका लागि एमसिए–नेपालले गरेको प्रयासको हामी सराहना गर्छौँ । यस उपलब्धिले नेपाल र भारतबिचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा हामी एक कदम अगाडि बढेका छौँ,’ उनले भने ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो उपलब्धिले नेपाल सरकारका प्राथमिकता पूरा गर्ने सन्दर्भमा एमसिए–नेपालको प्रतिबद्धतालाई उजागर गरेको बताए । ‘सीमापार प्रसारणलाइनको १८ किलोमिटर लामो यस महत्वपूर्ण खण्डको निर्माणकार्य सम्पन्न गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ ।’ यस्तै, एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारणलाइनको नेपालतर्फको खण्ड सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनुहुनेप्रति आभार व्यक्त गरिन् ।
यो परियोजना आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी भएको प्राधिकरणका कायममुकामय कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । यो न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको नेपाल खण्ड हो । भारत खण्डको प्रसारणलाइन नेपाल र भारतको संयुक्त लगानीमा निर्माणको अन्तिम चरणमा छ । भारत खण्डको निर्माण आगामी नोभेम्बरसम्म सकिनेछ । भारत खण्डको निर्माण सम्पन्न भएपछि यो प्रसारणलाइन सञ्चालनमा आउने कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
‘भारतखण्डमा काम सकिन अझै दुई–तीन महिना लाग्छ । त्यसपछि यो सञ्चालनमा आउनेछ,’ उनले भने, ‘हामीले नोभेम्बर–डिसेम्बरमा यो प्रसारणलाइन सञ्चालन गर्ने गरी योजना बनाइरहेका छौँ । तर, प्राविधिक विषय भयो भने केही तलमाथि पनि हुन सक्छ ।’