एसिसी प्रिमियर कप : युएईलाई हराउँदै नेपाल च्याम्पियन

सन्दीप लामिछानेको कप्तानीमा युएईलाई ४४ रनले पराजित गरेसँगै नेपाललाई एसिया कपमा भारत, श्रीलंका, पाकिस्तान, आयोजक बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट महारथी टिमसँग खेल्ने अवसर

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यो सँगै नेपालले दोस्रोपटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ । शनिबार मलेसियाको बायुमास क्रिकेट ओभलमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गुल्सन झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो । 

नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१४ रन लक्ष्य दिएको थियो । प्रत्युत्तरमा युएई ४९ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई ६९ रन बनाउन सक्यो । सानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा ६ खेल खेलेका सन्दीपले सर्वाधिक १७ विकेट हात पारेका थिए । 

फाइनल जितेसँगै नेपाल सन् २०२७ को एसिया कपमा स्थान बनाउन सफल भएको छ । नेपाल र युएई दुवै दोस्रोपटक एसिया कप खेल्ने योजनामा थिए । सन् २०२५ को एसिया कपमा नेपाललाई हराउँदै युएई पहिलोपटक सहभागी भएको थियो । त्यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराउँदै पहिलोपटक एसिया कप खेलेको हो । अब, बंगलादेशमा अर्काे वर्ष हुने एसिया कपमा सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, आयोजक बंगलादेश र अफगानिस्तान जस्ता टिमसँग खेल्ने पक्का भइसकेको छ । 

राहुलको शतक व्यर्थ
युएईका पाँचौँ क्रमका ब्याटर राहुल चोप्राले पनि शतक बनाए । ३१ वर्षीय दायाँहाते ब्याटरले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित सर्वाधिक १०० रन जोडेका हुन् । उनको यो करिअरकै तेस्रो शतक हो । यद्यपि टिमको हारले यो सतक छायाँमा पर्‍यो । यसअघि क्यानडा र स्कटल्यान्डविरुद्ध उनले शतक बनाएका थिए । त्यसबाहेक सोहाइब खानले ५७ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएका हुन् । त्यस्तै, ओपनर तानिस सुरीले २८ बलमा चार चौका र ३ छक्कासहित ४२ रन बनाए । कप्तान हरप्रित सिंहले ३३ रनको योगदान गरेका हुन् । नेपालका बलर करण केसीले सर्वाधिक तीन तथा ललित राजवंशीले दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र गुल्सन झाले समान एक विकेट लिएका थिए । 

आसिफको शतक
कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी रह्यो । नेपाली शीर्षक्रमका ब्याटरले एसिया कप छनोटको निर्णायक खेलमा खुलेरै ब्याटिङ गरे । नेपालको ओपनिङदेखि मध्यक्रम सबैले सानदार ब्याटिङ गरेका हुन् । ओपनर आसिफ शेखले तीन वर्षपछि शतक बनाए । उनले १०६ बलमा १०२ रन बनाएका हुन् ।

२५ वर्षीय ब्याटरले आठ चौका र चार छक्का प्रहार गरेका थिए । उनले शतक बनाउँदा नेपालले ३४ ओभरमा दुई विकेट गुमाएर १८५ रन बनाइसकेको थियो । आसिफको यो दोस्रो शतक हो । यसअघि उनले कीर्तिपुर मैदानमा पिएनजीविरुद्ध सन् २०२३ मा पहिलोपटक शतक बनाएका थिए । ७६ एकदिवसीय खेल खेलिरहेका आसिफले हालसम्म दुई शतक र १५ अर्धशतक बनाएका छन् । अर्का ओपनर अर्जुन कुमालले आसिफसँगै उत्कृष्ट सुरुवात गरेका थिए । 

तीन ठुला साझेदारी
नेपालको इनिङ्समा तीन ठुलो साझेदारी भएको थियो । दुई ओपनर आसिफ र अर्जुनबिच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भएपछि अन्य ब्याटरलाई समेत विनादबाब खेल्न सहज भएको थियो । युवा ओपनर अर्जुनले ६३ बलमा ४३ रन बनाएर रनआउट भए । गुल्सन झाले आक्रामक अर्धशतक बनाए । पाँचौँ नम्बर क्रिजमा आएका उनले ३८ बलमा तीन चौका र चार छक्का हिर्काएका हुन् । छक्का हान्नेक्रममा उनलाई अबरार अहमदले तानिस सुरीबाट क्याच गराएका थिए । 

पूर्वकप्तान रोहितकुमार पौडेलले पनि ४४ बलमा ४० रनको योगदान गरे । उनले दुई चौका प्रहार गरेका थिए । रोहितले क्रिजमा आसिफ र गुल्सनसँग दुई बलियो साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पु¥याएका थिए । रोहित र आसिफबिच तेस्रो विकेटका लागि ५३ बलमा ६८ रनको साझेदारी भयो । चौथो विकेटका लागि रोहितले गुल्सनसँग ५४ बलमा ६७ रनको तेस्रो ठुलो साझेदारी गरेका हुन् । 

बसिर अहमद १५ रनमा अविजित रहे । उनले चार बलमा दुई चौका र एक छक्का हिर्काएका थिए । यसअघि तेस्रो नम्बर क्रिजमा आएका ईशान पाण्डे १३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १८ रन बनाएका हुन् । युएईका अबरार अहमदले सर्वाधिक चार विकेट लिएका थिए । तर, उनले आठ ओभरमा सर्वाधिक ६२ रन नै खर्चिए । नौ ओभरमा ६२ रन व्यहोरेका खुजाइमा तन्बिरले पनि दुई विकेट लिए । 

युएईको अपराजित यात्रामा पूर्णविराम
फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्णविराम लागेको छ । उसले समूह ‘बी’मा चारसहित सेमिफाइनल गरी कुल पाँच खेलमा हार व्यहोर्नुपरेको थिएन । युएईले समूह चरणमा कतार, कुवेत, सिंगापुर र ओमान तथा सेमिफाइनलमा हङकङलाई हराएको थियो । यता, नेपालले पनि एक खेल हारेर फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसियालाई हराउँदा तेस्रो खेलमा साउदी अरेबियालाई हराउँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्यो । तर, समूहको अन्तिम खेलमा हङकङसँग पराजित हुनपुग्यो । सेमिफाइनलमा नेपालले ओमानविरुद्ध अविश्वसनीय जित निकालेको थियो । 

सुझावित समाचार