एसिसी प्रिमियर कप फाइनल आज : एसिया कपमा पुग्न नेपाल र युएईबिच भिडन्त

एसिसीले फाइनलमा रिजर्भ डे राखेको छैन । रिजर्भ डे नहुँदा समूह चरणमा बटुलेको अंकतालिकाका आधारमा विजेताको घोषणा हुनेछ ।

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल र युएईबिच शनिबार एसिसी प्रिमियर कपको उपाधि भिडन्त हुँदै छ । यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनोट प्रावधान हो । यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन् । प्रिमियर कप विजेता नै सन् २०२७ मा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । पछिल्लो दुई संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए । दुवै टोलीले समान एक जित र हार निकाले । लगातार तेस्रोपटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाडीहरू एक–आपसका कमीकमजोरी र बलियो पक्षसँग जानकारी छन् । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास 
क्रिकेट ओभलको पिच मुख्य गरी ब्याटिङ मानिन्छ । तर, पछिल्लो समय यहाँ विकेट कन्डिसन परिवर्तन हुँदा बलर हाबी भएका छन् । नेपालका सिमर र स्पिनरले लगातार उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपालले सेमिफाइनलमा मलेसियालाई ६० रनमा रोक्दा स्पिनरले घातक बलिङ गरेका थिए । यसै प्रदर्शन निरन्तरता राख्दा नेपाल योपटक युएईमाथि हाबी हुन सक्छ । 

नेपाल दोस्रोपटक एसिया कप खेल्ने लक्ष्यका साथ युएईविरुद्ध प्रतिस्पर्धा गरिरहँदा बलिङ पक्षमाथि केन्द्रित हुनेछ । संयोग कस्तो रह्यो भने नेपाल पहिलोपटक सन् २०२३ मा एसिया कपमा छनोट हुँदा युएईलाई नै हराएको थियो । आइसिसी विश्वकप लिग दुई अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा खराब प्रदर्शन गरेपछि नेपालका प्रशिक्षक स्टुवार्टले सिनियर खेलाडीलाई बाहिर राखेर नयाँलाई मलेसियामा मौका दिएका छन् । युएईले पनि नियमित कप्तान वासिमसहित चार खेलाडीलाई बाहिर राखेको छ । अहिले युएईको कप्तानी हरप्रित सिंहले गरिरहेका छन् । उनले अहिलेसम्म हारको सामना गरेका छैनन् । 

विश्वकप लिग २ मा नेपाल र युएईका 
एकदिवसीय मान्यता धरापमा छन् । युएई २८ खेलमा १८ अंकसहित पुछारमा छ । नेपालले पछिल्ला चारै खेल गुमाउँदा ३२ खेलमा २४ अंकसहित सातौँ स्थानमा छ । यद्यपि, विश्वकप लिग २ र एसिसी प्रिमियर कप फरक प्रतियोतिगा हो । फरक स्थान र प्रतियोतिगामा दुवै टोली नयाँ जोश र जाँगरका साथ एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो पाँच भेटमा नेपालले युएईलाई तीन खेलमा हराएको थियो । बायुमासमा टसले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । टस जित्ने टोलीले अहिलेसम्म फिल्डिङ रोज्दै आएका छन् । बिहानी पिचमा शीत अत्यधिक हुँदा स्पिनर हाबी हुन सक्छ । अहिलेसम्म युएई प्रतियोगिताकै एक मात्र अपराजित टोली हो । नेपालले एक मात्र खेल हङकङसँग गुमाएको थियो । 

वर्षाले प्रभावित हुँदा युएई अगाडि रहने
आयोजक एसिसीले फाइनलमा रिजर्भ डे राखेको छैन । रिजर्भ डे नहुँदा समूह चरणमा बटुलेको अंकतालिकाका आधारमा विजेताको घोषणा हुनेछ । यस्तो अवस्था आउँदा युएई नेपालभन्दा माथि रहेको छ । युएईले प्रतियोगिताको समूह चरणमा कुनै खेल गुमाएन । अपराजित रहँदै युएईले अन्तिम दुई स्थान पक्का गरेको हो । नेपाल भने हङकङसँग १५ रनले पराजित भएको थियो । वर्षा हुँदा हङकङसँगको हारमा नेपालले ठुलो मौका गुमाउनेछ ।

स्थानीय मौसमविद्हरूले बायुमास क्षेत्रमा फाइनलअघि भारी वर्षा हुने सम्भावना रहेको जनएका छन् । समूह चरणमा युएईले चारै खेल जित्दै आठ अंक जोडेको थियो । नेपाल समूह ‘ए’मा चार खेलबाट ६ अंक हात पारेको थियो । हेट टु हेटमा नेपाल र युएईबिच १९ पटक भेट भएको छ । नेपालले ११ जित र ८ खेलमा हार सामना गरेको छ । यद्यपि, पछिल्लो पाँच भेटमा युएईमाथि नेपाल हाबी छ । सन् २०२६ मा भएको दुई भेटमा नेपालले युएईलाई हराएको छ । 

सुझावित समाचार