लुम्बिनीमा लक्ष्यको ५० प्रतिशत पनि संकलन भएन आन्तरिक राजस्व

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकार स्थापना भएदेखि नै राजस्व संकलनले कुनै पनि वर्ष लक्ष्य भेट्टाउन सकेको छैन । प्रदेश र स्थानीय तहबिच बाँडफाँट हुने राजस्वबाहेक प्रदेशको आन्तरिक राजस्व शीर्षकमा लक्ष्यको ५० प्रतिशतभन्दा पनि कम राजस्व संकलन भइरहेको छ । गत आर्थिक वर्ष ०८२/८३ मा आन्तरिक राजस्वबाट चार अर्ब ८८ करोड चार लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ३९ करोड २२ लाख ७३ हजार एक सय दुई रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यको ४९ दशमलव शून्य २ प्रतिशत मात्रै हो । 

प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८३/८४ मा ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ । यस बजेटको स्रोतमध्ये आन्तरिक राजस्वबाट ६ अर्ब ६१ करोड ८५ लाख संकलनको लक्ष्य राखिएको छ ।   लुम्बिनीले गत आर्थिक वर्ष ०८२/८३ मा पनि आन्तरिक राजस्वतर्फ लक्ष्यको जम्मा ४९ दशमलव शून्य २ प्रतिशत संकलन गरेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनीका अनुसार संकलन गर्ने सवारीसाधन कर शीर्षकमा दुई अर्ब ९० करोड लक्ष्य राखेकामा एक अर्ब ९९ करोड ५१ लाख ६९ हजार तीन सय ८९ अर्थात् ६८ दशमलव ८० प्रतिशत संकलन गरेको छ । त्यस्तै, प्रदेश र स्थानीय तहबिच बाँडफाँट हुने स्थानीय तहले संकलन गर्ने राजस्व शीर्षकमा दुई अर्ब ८२ करोड ९० लाख संकलन गर्ने लक्ष्य राखेकामा जम्मा दुई अर्ब चार करोड एक लाख ९४ हजार नौ सय ५३ अर्थात् ७२ दशमलव १२ प्रतिशत संकलन गरेको छ । 

आन्तरिक राजस्व संकलन लक्ष्यमा सबैभन्दा कमजोर सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त हुने आम्दानी शीर्षकमा २५ लाख लक्ष्य राखिएको थियो । तर, लक्ष्यको जम्मा २२ प्रतिशत पाँच लाख ५० हजार ७१ रुपैयाँ संकलन भएको छ । त्यस्तै, सरकारी सम्पत्तिको बहालबाट ८० लाख संकलन हुने लक्ष्य राखिएकामा जम्मा २२ दशमलव ५९ प्रतिशत अर्थात् १८ लाख सात हजार चार सय ४३ रुपैयाँ संकलन गरेको छ ।

कृषि आयमा लाग्ने कर शीर्षकमा ५२ हजारको लक्ष्य राखिएकामा १५ हजार तीन सय ७४ रुपैयाँ मात्रै संकलन भएको छ । त्यस्तै, वन क्षेत्रको आय शीर्षकमा एक अर्ब ९९ करोड सात लाख ४० हजार लक्ष्य लिइएकोमा जम्मा ७६ करोड ४२ लाख २८ हजार पाँच सय ८८ रुपैयाँ संकलन भएको थियो । चालक अनुमतिपत्र र सवारीबाट एक अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ८१ करोड ८४ लाख ६२ हजार पाँच सय ११ रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ४५ दशमलव ४७ प्रतिशत हो ।

विगतका चार वर्षमा राजस्व संकलनको स्थिति
०८२/०८३ : ४ अर्ब ८८ करोड ४ लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ३९ करोड २२ लाख ७३ हजार मात्रै संकलन (४९ दशमलव शून्य २ प्रतिशत)
०८१/०८२ : ४ अर्ब ७१ करोड २० लाख संकलन गर्ने लक्ष्य लिएकामा १ अर्ब ९३ करोड २ लाख मात्रै संकलन (४०.९६ प्रतिशत)   
०८०/०८१ : ७ अर्ब ९८ करोड ५१ लाखको लक्ष्य रहेकामा ३ अर्ब ४३ करोड ७७ लाख संकलन (४३ दशमलव ०५ प्रतिशत)    
०७९/०८० : ५ अर्ब १० करोड ५९ लाख संकलन गन लक्ष्य रहेकामा ३ अर्ब ६१ करोड ३५ लाख ७६ हजार संकलन 
(७० दशमलव ७७ प्रतिशत)

सुझावित समाचार