सिभिल सहकारी ठगी मुद्दा : इच्छाराजसहित १६ प्रतिवादीले सर्वसाधारणको पाँच अर्ब ६७ करोड तिर्नुपर्ने फैसला

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका १६ जनाले सर्वसाधारणबाट ठगी गरेको पाँच अर्ब ६७ करोड रुपैयाँ दामासाहीका आधारमा तिर्नुपर्ने फैसला अदालतले गरेको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा बिहीबार सजाय निर्धारण गर्दै जिल्ला अदालत, काठमाडौंले कैद, जरिवाना र बिगो तिराउने फैसला गरेको हो । 

गत ११ भदौमा जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले १६ जनालाई दोषी ठहर गरेको थियो । जसमा सो सहकारीका संस्थापक रहेका इच्छाराज तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य तामाङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणकुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर कंसाकार, नगेन्द्र बिमली, रामराज मास्के, हिरप्रसाद रिसाल, लालकाजी गुरुङ र मीना गुरुङबाट सर्वसाधारणको बिगो भराउने फैसला भएको हो । 
उनीहरूमध्ये मुख्य प्रतिवादी रहेका इच्छाराजलाई पाँच वर्ष ६ महिना कैद र ५० हजार जरिवाना भएको छ । उनी ०७८ को १८ असोजदेखि थुनामा छन् । दोषी ठहर भएका केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार जरिवाना, सिर्जना शाक्यलाई एक वर्ष कैद र १० हजार जरिवाना, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणकुमार प्रधानलाई जनही ६ महिना कैद र पाँच हजार जरिवानाको सजाय भएको छ । 

त्यस्तै, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक–एक वर्ष कैद र १०–१० हजार रुपैयाँ जरिवाना, मुकुन्दप्रसाद नेउपानेलाई ६ महिना कैद र पाँच हजार जरिवाना, दानहिरा तुलधरलाई एक वर्ष कैद र १० हजार जरिवाना, नगेन्द्र बिमलीलाई ६ महिना कैद र पाँच हजार जरिवानाको सजाय तोकिएको छ । 

रामराज मास्केलाई ६ महिना कैद र पाँच हजार जरिवाना, हरिप्रसाद रिमाललाई ६ महिना कैद र पाँच हजार जरिवाना, मीना गुरुङलाई पाँच महिना कैद र चार हजार जरिवाना तथा लालकाजी गुरुङलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला भएको छ । उनले सहकारी संस्थाबाट लिएको ६ करोड ९० लाख ऋण ब्याजसहित तिर्नुपर्ने र मूल बिगोबाट सो रकम घटाई आउने बिगो दामासाहीका हिसाबले तिराउन फैसला भएको छ । 
 

सुझावित समाचार