एसिसी प्रिमियर लिग २०२६ अन्तर्गत सेमिफाइनलमा नेपालले बिहीबार ओमानको सामना गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘ए’मा आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भयो । हारसँगै नेपालको समूह ‘ए’मा अपराजित यात्रा समाप्त भयो । यसअघि लगातार तीन खेलमा जित निकाली नेपालले एक खेलअगाडि नै अन्तिम चारको स्थान पक्का गरेको थियो । तर, हङकङले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले हारको सामना गर्यो ।
नेपालमाथिको जितले हङकङ पनि समूह ‘ए’को उपविजेताका रूपमा अन्तिम चारमा पुग्यो । अब हङकङले फाइनल प्रवेशका लागि समूह ‘बी’को विजेता युएईको सामना गर्नेछ । युएई आफ्नो समुहमा अपराजित रहँदै सर्वाधिक आठ अंकका साथ शीर्ष स्थानमा रह्यो । क्वालालम्पुरको बायुमास ओभल मैदानमा हङकङले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो ।
प्रत्युत्तरमा नेपाल ४९.१ ओभरमा सबै विकेटको क्षतिमा २४६ रनमा समेटियो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हार सामना गरेको हो । हङकङलाई अन्तिम चारमा पुर्याउन तेस्रो क्रमका ब्याट्सम्यान बाबर हयातले शतकीय इनिङ्सको योगदान दिएका थिए । उनले १२६ बलमा ११७ रन जोडेका थिए । समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपालले चार खेलमा तीन जित र एक हार निकाली ६ अंक जोडेको छ ।
हङकङले पनि समान खेलबाट ६ अंक बनायो । रनरेटमा हङकङ दोस्रो भएको छ । यसैगरी, समूह ‘बी’मा रनरेटले साथ दिँदा ओमान अन्तिम चारमा पुगेको हो । ओमान, कतार र कुवेतबिच सेमिफाइनल प्रवेशका लागि त्रिकोणात्मक प्रतिस्पर्धा चलेको थियो । यद्यपि, कतार र कुवेतले चारै खेल खेलिसकेका थिए । यस समूहको अन्तिम खेल युएई र ओमानबिच थियो । ओमानले जित निकाल्न सिधै सेमिफाइनलमा पुग्ने थियो । हारले ओमान, कतार र कुवेतबिच रनरेटको आधारमा अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुने थियो । युएईसँग फराकिलोअन्तरले पराजित हुँदा मात्र ओमान सेमिफाइनल दौडबाट बाहिरन सक्थ्यो । सामान्य हारले ओमानको अन्तिम चारको स्थान लगभग पक्काजस्तै थियो । युएईले ओमानलाई ४९ रनले हराएपछि कतार र कुवेत सेमिफाइनलमा पुग्न नसेकेका हुन् ।
नेपालविरुद्ध हङकङको सानदार ब्याटिङ
नेपालसँगको गर या मरको प्रतिस्पर्धामा हङकङले उत्कृष्ट ब्याटिङ गर्यो । ओपनर जेसन अली र अंश राठले पहिलो विकेटका लागि ३.६ ओभरमा २२ रन जोडेका थिए । जेसन ९.१ ओभरमा शेर मल्लबाट बोल्ड भए । जेसनले १५ रन तथा अंशले १३ रनको योगदान दिए । नेपालविरुद्ध शतकीय योगदान दिएका बाबर एकपटक रिटायर्ड हट भएका थिए । हङकङले स्कोर बोर्डमा ५२ रन जोड्दा उनी रिटायर्ड हट भए । पुनः ब्याटिङमा फर्केका उनले नेपाली बलरविरुद्ध आक्रामक रूपमा ब्याटिङ गरेका थिए । उनले ११७ रनको योगदान दिन समान सात चौका र छक्का प्रहार गरेका थिए ।
छैटौँ क्रमका ब्याट्सम्यान साहिद वासिफले ४९ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाए । पुछारका इसान खानले ४६ बलमा पाँच चौका प्रहार गरी ३५ रन बनाए । बाबर र इसानले आठौँ विकेटका लागि १२८ रनको बलियो साझेदारी गर्दै नेपालविरुद्ध २६१ रनको योगफल बनाए । नेपालको बलिङमा कप्तान सन्दीपले १० ओभरमा ४४ रन दिएर चार विकेट लिए । यसैगरी, शेर मल्लले १० ओभरमा २७ रन खर्चेर तीन विकेट हात पारे ।
ईशानको प्रयास
नेपालले २६२ रनको लक्ष्य पछ्याउँदा ओपनिङबाट गतिलो साथ पाएको थियो । अर्जुन कुमाल र आसिफ सेखले पहिलो विकेटका लागि ८.३ ओभरमा ४४ रन जोडेका थिए । अर्जुनले २५ बलमा १४ रन बनाए । ओपनर आसिफ इनिङ्सको १५.४ ओभरमा आउट भए । उनले ५० बलमा ६ चौका र एक छक्का प्रहार गरी ४४ रन बनाए । त्यसपछि ईशान पाण्डेले नेपालको ब्याटिङ इनिङ्स सम्हालेका थिए । उनले दीपेन्द्रसिंह ऐरी र गुल्सन झासँग साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए । ईशानले दीपेन्द्रसिंहसँग चौथो विकेटका लागि ५४ रन जोडेका थिए । दुवैले नेपाललाई ८८–४ बाट १४२–५ को स्थितिमा राखे ।
दीपेन्द्रसिंहले ३७ बलमा २५ रन बनाए । ईशानले गुल्सनसँग छैटौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । गुल्सनले २२ बलमा समान एक चौका र छक्का प्रहा रगरी २० रन जोडे । यसैगरी, करण केसीले १३ बलमा दुई छक्काको सहयोगमा २१ रन बनाए पनि नेपालको जितका लागि काफी भएन । अन्तिमसम्म ब्याटिङ गरेका ईशानले १०६ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ९० रन जोडेका थिए । उनी इनिङ्सको ४८.३ ओभरमा अजिज खानबाट आउट भए ।
हङकङको बलिङमा अजिज खानले १० ओभरमा एक मेडन राखी सर्वाधिक चार विकेट लिँदा ५० रन खर्चेका थिए । सिमर इक्वालले १० ओभरमा एक मेडन राखी २७ रन खर्चेर एक विकेट हात पारे । इसान खानले ५७ एक विकेट आफ्नो नाममा राखे ।
