मधेशमा आधा धानखेती अकासेपानीकै भरमा

धान उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रत्येक वर्ष किसानले भोग्नुपर्छ मल र सिँचाइको समस्या

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

देशकै प्रमुख धान उत्पादन क्षेत्रमा पर्ने मधेश प्रदेशमा आधाभन्दा बढी धानखेती अझै पनि अकासेपानीको भरमा हुँदै आइरहेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले धानको बेर्ना राख्नेदेखि रोपाइँसम्ममा सिँचाइको समस्या भोग्दै आएका छन् । साथै, रोपाइँको समयमा खडेरी पर्दा धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने किसानको अनुभव छ । पछिल्ला केही वर्षयता मधेश प्रदेशमा पटक–पटक खडेरी पर्दै आएको छ । 

मधेशका आठवटै जिल्लामा धानखेती हुन्छ । तर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये ४९.४४ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ । यसको अर्थ आधाभन्दा बढी खेतीयोग्य जमिन अझै अकासेपानीमा निर्भर देखिन्छ । 

 जिल्लाअनुसार सिँचाइ पहुँचमा ठुलो अन्तर
मधेशका आठ जिल्लामा सिँचाइ सुविधा पुगेको क्षेत्रफलमा ठुलो अन्तर देखिएको छ । सबैभन्दा बढी सर्लाहीमा खेतीयोग्य क्षेत्रफलको ७२.६८ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ३२.५४ प्रतिशत सिँचाइ सुविधा पुगेको छ । त्यसैगरी, पर्सामा ६१.२१, धनुषामा ५१, बारामा ५०, रौतहटमा ४८.९१, सिराहामा ३९.७८ र सप्तरीमा करिब ३४ प्रतिशत खेतीयोग्य क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको तथ्यांक छ । 

 तीन लाख ७४ हजार हेक्टरमा धानखेती
मधेशमा कुल पाँच लाख ६७ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये तीन लाख ७४ हजार हेक्टर क्षेत्रमा धानखेती हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । तर, पर्याप्त सिँचाइ तथा मलखादको अभावका कारण धानको उत्पादकत्व अपेक्षाकृत कम छ । मन्त्रालयको विवरणअनुसार चैते र वर्षे धान गरी प्रदेशमा प्रतिहेक्टर औसत ३.९६ मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

प्रदेशमा हाल करिब १४ लाख ८० हजार मेट्रिकटन धान उत्पादन हुँदै आइरहेको छ । आव ०८१/८२ मा १५ लाख मेट्रिकटन धान उत्पादन भएको थियो भने आव ०८०/८१ मा १२ लाख ९६ हजार मेट्रिकटन उत्पादन भएको थियो । देशभर वार्षिक करिब ७२ लाख मेट्रिकटन धान आवश्यक पर्ने अनुमान छ । तर, औसतमा करिब ६० लाख मेट्रिकटन मात्रै उत्पादन हुने गरेको बताइन्छ । आन्तरिक उत्पादनले माग धान्न नसक्दा करिब १२ लाख मेट्रिकटन धान भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

See More On

सुझावित समाचार