दाेस्रो विश्वयुद्धपछि आदर्शवादले प्रभुत्व जमाएको युग थियो । त्यही कालमा धेरै बहुपक्षीय संस्था र पश्चिमा नेतृत्वको शासन प्रणालीको व्यापक विस्तार भयो । तर, त्यो विश्वमा अहिले निर्णायक ऐतिहासिक परिवर्तन देखिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई कार्यकालमा आकार लिएको विदेश नीति मुख्यतः एकपक्षीयता, लेनदेनात्मक राष्ट्रवाद र ऐतिहासिक गठबन्धनको पुनर्संरचनातर्फ अग्रसर छ ।
विगतका अन्तर्राष्ट्रिय मान्यतामा तीव्र गिरावट आइरहेको छ । यस परिर्तनले नयाँ विदेश नीति परिघटनालाई आकार दिइरहेको छ, जसलाई सहजताका लागि ट्रम्पवाद भन्न सकिन्छ । राष्ट्रिय सार्वभौमिकतालाई संस्थापनविरोधी आवाजलाई जोडेर ट्रम्पवादले दसकौँ लामो वैश्विक शासनलाई आधार बनाएको मूल धारणालाई चुनौती दिँदै छ ।
लेनदेनात्मक कूटनीतिका स्तम्भ : ट्रम्पवादले विगतको बहुपक्षीय प्रतिबद्धताको स्थानमा आर्थिक कूटनीति र राष्ट्रिय हितलाई राख्न खोज्दै छ । वैदेशिक सम्बन्ध स्पष्ट रूपमा घरेलु आर्थिक प्राथमिकतासँग जोडिने गरेका छन् । ट्रम्पको पालामा अमेरिकाको घरेलु आर्थिक प्राथमिकता पुनः औद्योगिकीकरण, रक्षा उद्योगको पुनरुत्थान, ऊर्जा प्रभुत्व, सन्तुलित व्यापार र वित्तीय क्षेत्रमा नेतृत्व हुनुपर्नेजस्ता कुरा देखिन्छ ।
उल्लिखित प्राथमिकता हासिल गर्न ट्रम्प प्रशासनले व्यापक बहुराष्ट्रिय सम्झौताको परित्याग गरेको छ । त्यसको स्थानमा आएको छ, द्विपक्षीय मोलमोलाइ, आक्रामक भन्सार शुल्कको अवलम्बन । राज्यशक्ति प्रक्षेपण गर्ने प्रमुख औजार प्रतिबन्ध बनेको छ । ‘डर देखाएर शान्ति कायम गर्ने’ नीतिअन्तर्गत, ट्रम्पवादले सहयोगी र विरोधी दुवैलाई समान दबाब दिइरहेको छ । यसका लागि उसले कानुनी, आर्थिक र सुरक्षा संयन्त्र विनाहिचकिचाहट अवलम्बन गरिरहेको छ । यो लेनदेनात्मक अडान अहिले स्पष्ट रूपमा सामूहिक प्रतिरक्षा र सुरक्षा संरचनामा समेत विस्तार भएको छ, विशेष गरी नेटोमा । ट्रम्पवादले पश्चिमी राष्ट्रको सुरक्षाका लागि नेटोका सदस्यमाथि समान हिस्सा वहन गर्न दबाब दिइरहेको छ ।
संस्थागत अवरोध र प्रणालीगत पक्षाघात : ट्रम्पवादको प्रणालीगत परिणाम वैश्विक शासनको हरेक तहमा प्रतिध्वनित हुन थालेको छ । बहुपक्षीय मञ्चहरूमा वर्तमान अमेरिकी सरकारले अभूतपूर्व अस्पष्टता प्रदर्शन गरेको छ भने बारम्बार स्थापित अन्तर्राष्ट्रिय सम्झौताबाट पन्छिने गरेको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिका केही बहुपक्षीय संस्थाबाट अलग भइसकेको छ ।
ट्रम्प प्रशासनको अस्थिर नेतृत्वशैलीले विश्वव्यापी शासनभित्र गहिरो संकट विकास गरेर शीतयुद्ध अन्त्यपछिको उदार अन्तर्राष्ट्रिय व्यवस्थाको खण्डीकरणलाई तीव्र पार्दै छ । यस संस्थागत अवरोधको एक प्रमुख क्षति संयुक्त राष्ट्र संघ, विशेष गरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले व्यहोर्नुपरेको छ । ट्रम्पका नीतिहरूले सुरक्षा परिषद्को वैधता, प्रतिनिधित्व र प्रभावकारितामाथि बहस निम्त्याएको छ ।
पर्यवेक्षकका अनुसार औपनिवेशिक युगमै जरा गाडेको भूराजनीतिक प्रतिद्वन्द्विता, संस्थागत जडता र संरचनात्मक पदानुक्रमले सुरक्षा परिषद्लाई पहिल्यै जड बनाएको थियो । अहिले अमेरिकी संस्थागत विच्छेदनले यो जडतालाई अझ जटिल बनाएको छ । ट्रम्प प्रशासनले समान विचारधारा भएका सहयोगीसँग सहकार्य गरेर आवश्यक संस्थागत सुधारलाई अगाडि बढाउन खोजिरहेको ट्रम्पका समर्थकले तर्क गरिरहेका छन् । तर, आलोचकले भने यी चाललाई विश्वव्यापी स्थिरताभन्दा तत्काल राष्ट्रिय हितलाई प्राथमिकता दिने कदमका रूपमा हेरेका छन् ।
बहुध्रुवीय र क्षेत्रीय व्यवस्थाको उदय : अमेरिका विश्वव्यापी व्यवस्थापनबाट पछि हटिरहँदा उत्पन्न शक्तिशून्यताले अन्तर्राष्ट्रिय राजनीतिमै ठुलो पुनर्संरचना भइरहेको छ । मध्यम शक्ति र क्षेत्रीय गुट अहिले देखिएको रिक्तता पूरा गर्न अगाडि आउन थालेका छन् । यी शक्तिले विभिन्न मुद्दाकेन्द्रित गठबन्धनमार्फत परम्परागत पश्चिमी प्रभुत्व भएका संस्थाको पूरक वा प्रत्यक्ष विकल्प प्रस्तुत गर्न सुरु गरेका छन् ।
एकातिर, केही विज्ञले ट्रम्पका कारण निम्तिएका अवरोधले प्रकारान्तरमा सुधार र प्रणालीगत लचिलोपनलाई सघाउने तर्क गरिरहेका छन् । विशेषतः मध्यम शक्ति र गैरपश्चिमी राष्ट्र आफ्नो क्षेत्रको सुरक्षाका लागि बढी केन्द्रित हुनुपर्ने अवस्था आएपछि उनीहरूबिच सुरक्षा र आर्थिक समन्वय बढ्ने र बहुल, समावेशी र यथार्थपरक विश्वव्यापी व्यवस्थालाई बढावा दिने यो समूहको तर्क छ । अर्को समूहले भने बहुपक्षीय प्रतिबद्धताबाट अमेरिका अलग्गिनुले सामूहिक सुरक्षा व्यवस्था पतन भएको चेतावनी दिएका छन् । तिनका अनुसार कमजोर पश्चिमी नेतृत्वको अवस्थामा महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा सधैँ रणनीतिक प्रतिस्पर्धा हुने, क्षेत्रीय अस्थिरता निम्तने र खतरनाक शासन शून्यता सिर्जना हुनेछ ।
महाशक्तिको पुनः परिभाषा : ट्रम्पको दुई कार्यकालमा देखिएको विदेश नीतिलाई एकजना व्यक्तिको शासनशैली भनेर सामान्य कुरा मानेर पन्छाउन सकिँदैन । यसमा त स्थायी प्रकृतिको एक वाद, अर्थात् ट्रम्पवाद देखिन्छ । किनभने अहिलेका तमाम अभ्यासले अन्तर्राष्ट्रिय शासन क्षेत्रमा एक विशिष्ट, पुनरुत्पादनयोग्य प्रतिमान स्थापित गरेको छ । ट्रम्पको विदेश नीतिले समकालीन अन्तर्राष्ट्रिय प्रणालीमा अमिट छाप छोड्ने निश्चित छ । उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाविरुद्ध उभिएर यसले शक्तिसन्तुलनलाई स्थायी रूपमा परिवर्तन गर्नेछ । ट्रम्पवादका कारण विश्व एक विकेन्द्रीकृत, उच्च क्षेत्रीयतामा आधारित र नयाँ शासन मोडेलको खोजी गर्ने नयाँ युगमा प्रवेश गर्न बाध्य हुनेछ ।
(संयुक्त राष्ट्र संघका पूर्वकर्मचारी दब्बाग अन्तर्राष्ट्रिय राजनीतिका अनुसन्धानकर्ता हुन्) अलजजिराबाट