एसिसी प्रिमियर कप : साउदी अरेबियालाई हराउँदै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण
  • साउदी अरेबियालाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्ने

लगातार दुई खेल जितेको नेपाल एसिसी प्रिमियर कप २०२६ को तेस्रो खेलमा आज साउदी अरेबियाविरुद्ध खेल्दै छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमिफाइनल खेल्ने एक खेलअघि नै निश्चित हुनेछ । समूह ‘ए’मा लगातार दुई खेल जितेको नेपाल शीर्ष स्थानमा छ । यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । नेपालले अन्तिम खेल हङकङसँग खेल्ने तालिका छ ।

नेदरल्यान्ड्समा भएको आइसिसी क्रिकेट विश्वकप लिग २ मा चारै खेलमा पराजित भएपछि नेपाली टिममा ठुलै परिवर्तन भयो । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहितकुमार पौडेललाई जिम्मेवारीबाट लेग स्पिनर सन्दीप लामिछ ानेलाई नयाँ पुनः अवसर दियो । त्यस्तै, सोमपाल कामी, कुशल भुर्तेल (ए टिममा झरेका), आरिफ सेख, नन्दन यादवलाई टिमबाट आउट नै गर्यो । देव खनाल, शेर मल्ल, हेमन्त धामी, देव खनालले अवसर पाए ।

त्यसयता नेपालले आफ्नो लय प्रभावशाली देखाइरहेको छ । नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो । यसखेलमा सन्दीपले पाँच, ललितले तीन तथा करणले दुई विकेट लिएपछि नेपालले बहराइनलाई ८७ रनमै रोकेको थियो । अर्जुन कुमालले एक्लै ३६ रन बनाएपछि नेपालले बहराइनलाई सहजै हरायो । 

दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले हरायो । यो खेलमा पनि बलर हाबी भए । करणले एक्लै चार तथा ललितले दुई विकेट लिएका थिए । ब्याटिङतर्फ अर्जुनले सर्वाधिक ४५ रन बनाउँदै नेपाललाई लगातार दोस्रो जित दिलाएका हुन् ।

कप्तान सन्दीपसँगै अर्का तीव्रगतिका बलर करण केसी, स्पिनर ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङतर्फ अवसर पाएका अर्जुन कुमालको तारिफयोग्य प्रदर्शन छ । रोहितले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । अवसर पाएका पवन सर्राफले पनि औसत प्रदर्शन दिएका छन् । तर, ओपनर आरिफ सेख, ईशान पाण्डेजस्ता खेलाडीले लय पाउन सकेका छैनन् ।

प्रशिक्षक स्टुआर्ट ल साउदी अरेबियाविरुद्ध पनि यिनै खेलाडीलाई प्रयोग गर्नेछन् । प्रशिक्षक स्टुआर्ट ल तेस्रो खेलमा साउदी अरेबियाका ब्याटर अब्दुल वाहिदसँगै अब्दुल महन अली, फैसल खान र मोहम्मद हिसाम सैखसँग सहज हुनुपर्नेछ । उनीहरूले अघिल्ला खेलमा अर्धशतक प्रहार गर्दै टोलीको संकट टारेका थिए । एसिया कप छनोटको आधार रहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको च्याम्पियन टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान खेल्ने टुंगो लागिसकेको छ ।

साउदी दोस्रो जितको खोजीमा 
समूहमा साउदी दोस्रो जितको खोजीमा छ । तीन खेल खेलेको साउदीले मात्र एक खेल जितेको छ । टोली दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । साउदी नेपाललाई हराउँदै चार अंक बनाएर सेमिफाइनल सम्भावना कायम राख्ने योजनामा छ ।

साउदी पहिलो खेलमा हङकङसँग १६ तथा मलेसियासँग ९३ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने साउदीले बहराइनलाई १७ रनले पराजित गर्यो । यो खेलमा साउदीले बहराइनललाई २२१ रनको लक्ष्य दिएको थियो । उसको जितमा अब्दुल वाहिदले ७० रन बनाएका थिए । पहिलो खेलमा पनि साउदीले हङकङसँग २५७ रन बनाएको थियो । तर, पनि टोली १६ रनले पराजित भयो । साउदीका अब्दुल महन अली, फैसल खान र मोहम्मद हिसाम सैखले अर्धशतक बनाए टोलीलाई जित दिलाउन सकेका थिए । साउदी यी खेलाडीकै उच्च मनोबलसाथ नेपाललाई चुनौती दिने मनसायमा छ ।

समूहमा नेपाल र हङकङको समान चार अंक छ । यद्यपि, नेपालले मात्र दुई खेल खेलेको छ । मलेसियासँगै साउदी र बहराइनको समान तीन खेलबाट दुई अंक रहेको छ । यी तीनै टिमलाई सेमिफाइनलमा पुग्ने उत्तिकै अवसर छ । त्यसका लागि सबैले आ–आफ्नो खेल जित्नुपर्ने हुन्छ ।

हेट टु हेडमा नेपाल अगाडि
साउदी अरेबिया र नेपालबिच भएको खेलमा हेट टु हेड नेपालकै बलियो देखिन्छ । हालसम्म दुई खेल हुनुपर्ने भए पनि एक खेल रद्द भएको थियो । सन् २०१२ दुबईमा भएको एसिसी ट्रफी एलिटमा नेपालले पहिलो भेटमै साउदीलाई नौ विकेटले पराजित गरेको थियो ।

दोस्रो भेट नेपालमै भयो । तर, यो खेल हुनै सकेन । सन् २०२३ मा भएको एकदिवसीय फर्म्याटको एसिसी प्रिमियर कपमा नेपाल अपराजित रहेर च्याम्पियन हुँदै एसिया कप खेल्यो । त्यतिवेला नेपालको दोस्रो भेट साउदीसँगै हुँदै थियो । तर, मूलपानी मैदानमा वर्षा अत्यधिक हुँदा खेल हुनै सकेन । एक बल पनि बल फ्याल्न नपाई खेल रद्द भएको थियो । 

सुझावित समाचार