कराँतेले एसियाडको अन्तिम तयारी जापानमा गर्ने

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण
  • लगातार तीन वर्ष प्रशिक्षणमा रहेको कराँते टोलीले २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को अन्तिम प्रशिक्षण टोकियोस्थित विश्व सितोरियो कराँतेको मेन डोजोमा गर्ने

१९औँ संस्करणमा एसियाली खेलकुद (एसियाड)मा कराँतेले ऐतिहासिक रजत पदक जितेको थियो । कराँतेकी एरिका गुरुङले नेपाललाई एकल विधामा रजत दिलाएकी थिइन् । सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाडमा एरिकाले कराँतेमा अहिलेसम्मकै ठुलो सफलता दिलाएकी थिइन् । एसियाडको इतिहासमा एकल स्पर्धामा नेपालले रजत जितेको २४ वर्षपछि थियो । सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । तेक्वान्दो भने सन् २००६ यता एसियाडमा पदकविहीन छ ।

नेपालको एसियाडमा पहिलोपटक रजत बैंककमै थियो । त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८औँ एसियाडमा प्याराग्लाइडिङले टिम इभेन्ट्समा रजत जित्यो । तीन वर्षअघि हाङझाउको एरिनामा इतिहास कोरेको कराँते अब नयाँ लक्ष्यका साथ अगाडि लम्केको छ । आगामी ३ असोजमा जापानको आइची र नागोयामा हुने २०औँ संस्करणको एसियाडमा नेपाली कराँते टोलीले स्वर्णपदक जित्ने लक्ष्य राखेको छ ।

नेपाललाई पदक दिलाउने अभियानमा सबैभन्दा अगाडि एरिका नै हुन् । महिला ६८ केजी तौल समूहमाथि उनी आफ्नो समूहकै उत्कृष्ट खेलाडीमा पर्छिन् । यो तीन वर्षभित्र उनले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा थुप्रै ऐतिहासिक पदक नेपाललाई दिएकी छिन् । बिहीबार मात्र नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्ष महिला खेलाडीमा उनी लगातार तेस्रोपटक विजेता बनिन् । अवार्डमा ह्याट्रिक गरेकामा एरिका पनि स्वर्णपदककै लागि प्रतिस्पर्धा गर्ने बताउँछिन् ।

‘मेरो प्रयास यसपटक नेपाललाई स्वर्ण दिलाउनु हो,’ उनले भनिन्, ‘हामी लगातार तीन वर्ष अभ्यासमा छौँ, एसियाली खेलकुदमा उत्कृष्ट नतिजाको प्रयासमा हुनेछौँ ।’ एरिकाका प्रशिक्षक कुशल श्रेष्ठ पनि जापानमा स्वर्ण जित्नेमा आशावादी छन् । ‘हाङझाउपछि नेपाली कराँते टोली निरन्तर प्रशिक्षणमा रहेको छ । हामीलाई एरिकाबाट स्वर्णको आशा छ,’ श्रेष्ठले भने, ‘तीन वर्षभित्र ऐतिहासिक पदक जितेकी खेलाडीले निराश नपार्ने विश्वास छ ।’

मोरोक्कोमा प्रशिक्षण गर्ने योजना विफल
यसअघि कराँतेले मोरोक्कोमा अन्तिम प्रशिक्षण गर्ने योजना बनाएको थियो । प्राविधिक कारणले यो योजना सफल नभएपछि कराँतेले दोस्रो विकल्पमा जापानमा प्रशिक्षण गर्ने राखेको थियो । प्रतियोगिताका दुई साताअघि जापानमै प्रशिक्षण गर्न पाउँदा खेलाडीले त्यहाँको मौसमसँग भिज्न पाउने प्रशिक्षक श्रेष्ठले बताए । ‘जापानमा अगाडि गएर प्रशिक्षण गर्दा त्यहाँको वातावरणबारे थाहा हुन्छ । यसका साथ हामी राम्रा खेलाडीसँग अभ्यास गर्छौँ,’ उनले भने । नेपाली टोलीमा एकल कातामा सानुमाया थिङ पनि पदकको दाबेदार खेलाडीमा पर्छिन् । छनोट चरण पार गरी उनले विश्व कराँते च्याम्पियनसिपमा स्थान बनाएकी थिइन् ।

जापानको टोकियोस्थित विश्व सितोरियो कराँतेको मेन डोजोमा कराँते टोलीले ६ देखि १६ सेप्टेम्बरसम्म प्रशिक्षण गर्नेछ । एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराँते टोली पहिलो हो । टोकियोबाट कराँते टोली एसियाडमा सहभागी हुन १७ सेप्टेम्बरमा नागोया पुग्नेछ । कराँतेको खेल २० देखि २३ सेप्टेम्बरसम्म हुनेछ ।

कराँतेमा एक रजत र तीन कांस्य
कराँते खेलाडीले अहिलेसम्म नेपाललाई एक रजत र तीन कांस्य पदक दिलाएका छन् । यसपटक पदक जित्ने लक्ष्यका साथ पुरुष ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मीनबहादुर तामाङ, ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । महिला ६८ केजीमाथि एरिका, ६८ केजीमुनि निरूपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले भिड्नेछन् । सानुमायासहित एलिसा रास्कोटी र मेघा लिम्बूले टिम कातामा पनि सहभागिता जनाउनेछन् । प्रशिक्षक मन्डेकाजी श्रेष्ठका अनुसार एसियाडको कराँतेपछि यही टोली जापानकै योकोहामामा २५ देखि २७ सेप्टेम्बरसम्म विश्व सितोरियो कराँते महासंघको आयोजनामा हुने ११औँ सितोरियो कराँते अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुनेछ । यसैबिच एसियाडमा सहभागी हुने कराँते टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गरेका छन् । 

See More On

सुझावित समाचार