नेपाली क्रिकेटको विकास, प्रवर्द्धन तथा प्रवासी नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई) मा पहिलोपटक जिसिडी नेपाली प्रिमियर लिग क्रिकेट आयोजना हुने भएको छ।
दुबईस्थित हिल्टन होटलमा ३ सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। कार्यक्रममा प्रतियोगिताको लोगो, ट्रफी, जर्सी, प्रोमो तथा खेल–तालिका सार्वजनिक गरिएको थियो।
जिसिडी ग्रुप अफ कम्पनिजका अध्यक्ष एवं एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल महावाणिज्य दूतावास, दुबईका कन्सुलर कुञ्जन शाहले विदेशमा रहेका नेपाली खेलाडीका लागि प्रतियोगिता महत्त्वपूर्ण अवसर हुने बताए। उनले प्रतियोगिताले नेपाली खेलाडीको प्रतिभा विकाससँगै प्रवासी नेपाली समुदायबिचको सम्बन्ध र एकता थप बलियो बनाउने विश्वास व्यक्त गरे।
प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर ५ देखि २६ सम्म प्रत्येक शनिबार शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालिज क्रिकेट क्लब, जिसिडी गोर्खाली राइनोज क्रिकेट क्लब, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोली सहभागी हुनेछन्।
सेप्टेम्बर २६ मा फाइनल खेलसँगै विशेष समापन समारोह आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले पाँच हजार युएई दिराम नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले दुई हजार युएई दिराम तथा पदक पाउनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक जिसिडी ग्रुप अफ कम्पनिज तथा प्लाटिनियम स्पोन्सर अल फरदान एक्सचेन्ज रहेको छ।
युएईमा रहेका नेपाली खेलाडीलाई नियमित रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउँदै नयाँ प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। अध्यक्ष रमेश श्रेष्ठका अनुसार पहिलो संस्करण सफल बनाएर आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित, व्यापक र नियमित बनाउने लक्ष्य रहेको छ।
आयोजकले जिसिडी नेपाली प्रिमियर लिगलाई क्रिकेट प्रतियोगितामा मात्र सीमित नराखी नेपाली प्रतिभा पहिचान, खेलाडी विकास, सामुदायिक एकता र सामाजिक उत्तरदायित्वको साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ।