कुर्सीमा बसेर कागजात समात्ने शैलीलाई नेतृत्व मान्नुहुन्छ भने तपाईं गलत युगमा हुनुहुन्छ : गृहमन्त्री गुरुङ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले पुरानो प्रशासनिक परिपाटी र परम्परागत कार्यशैलीप्रति कडा टिप्पणी गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत शासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

आफ्नो कार्यशैलीलाई लिएर भइरहेको आलोचनाप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत ‘जेनेरेसन ग्याप’ अर्थात् पुस्तान्तरणको विषय उठाएका हुन्। मन्त्रालयको टेबुल र कुर्सीमा भौतिक रूपमा उपस्थित नभएको भन्दै भइरहेको टीका–टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उनले प्रविधिको युगमा डिजिटल माध्यमबाट कार्यसम्पादन अझ छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन्।

गृहमन्त्री गुरुङले विपत् व्यवस्थापनका लागि आवश्यक संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपत् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनुपर्दैन। हामी अनलाइनमार्फत नै हरेक चार घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ।’

वर्षौँदेखि फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै शासन गर्ने प्रवृत्तिका कारण देशले अपेक्षित परिणाम हासिल गर्न नसकेको उनको भनाइ छ। ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई उस्तै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ,’ उनले भनेका छन्।

गृहमन्त्री गुरुङले नेतृत्वको मूल्यांकन भौतिक रूपमा कहाँ बसेर काम गरियो भन्ने आधारमा नभई त्यसबाट प्राप्त परिणामका आधारमा हुनुपर्ने बताएका छन्। डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाह तथा निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले अबको नेतृत्व आधुनिक प्रणाली र प्रविधिमैत्री कार्यशैलीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । 

सुझावित समाचार