कराँतेकी एरिका गुरुङले लगातार तेस्रोपटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड जितेकी छिन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ बक्सिङका चन्द्रबहादुर थापा उत्कृष्ट खेलाडी भएका छन् । बक्सिङमा यसअघि यो अवार्ड उनकै प्रशिक्षक दीपक महर्जनले जितेका थिए । बक्सिङ विधाबाट वर्षका उत्कृष्ट पुरुष खेलाडी हुने थापामगर दोस्रो बक्सर हुन् ।
२३औँ संस्करणमा कराँतेका कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, कराँतेकी मनीषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी र भलिबलकी मीना सुनारले पिपल्स च्वाइसको अवार्ड जितेका छन् । कुशलले दोस्रोपटक उत्कृष्ट प्रशिक्षक अवार्ड हात पारेका हुन् । यसपटक कराँतेले तीन अवार्ड जितेको छ । पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पाएका छन् ।
अन्य चार विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस वर्ष भारतका खेल पत्रकार सबा नायकन एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् ।
मनीषा उत्कृष्ट युवा खेलाडी
कराँतेकी मनीषा उत्कृष्ट युवा वर्ष खेलाडी बनिन् । यस विधामा कराँतेका रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए । गत वर्ष मनीषाले चीनमा भएको एसियन २३औँ क्याडेट, जुनियर तथा यू–२१ कराँते च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । श्रीलंकामा सम्पन्न नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा मनीषाले नेपाललाई दुई स्वर्ण पदक दिलाइन् ।
कुशल दोस्रोपटक उत्कृष्ट प्रशिक्षक
कराँतेकी एरिकाको सफलतामा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । रिङबाहिर बसेका प्रशिक्षककै निर्देशनमा खेलाडीले प्रतिस्पर्धा गर्छन् । तीन वर्षदेखि निरन्तर एरिकालाई प्रशिक्षण दिइरहेका कुशल यसपटक वर्ष उत्कृष्ट प्रशिक्षक बने । २१औँ संस्करणमा पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । एरिकालाई अन्तर्राष्ट्रिय सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका कारण कुशल दोस्रोपटक उत्कृष्ट प्रशिक्षक बनेका हुन् । गत वर्ष रेहान जाबेद र मनीषाकुमारी बोहराको उपलब्धिमा पनि उनको विशेष योगदान थियो । कुशलले आफ्नो विधामा बक्सिङका दीपक महर्जन, कराँतेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरनसिंह खत्रीलाई पछि पारे ।
मीनाले जितिन् पिपल्स च्वाइस
अवार्डमध्ये पिपल्स च्वाइस मात्र एउटा यस्तो विधा हो, जसको निर्णय भोटिङका आधारमा हुन्छ । यसपटक पनि भलिबलकी मीना सुनारले यस अवार्ड हात पारेकी छिन् । उनले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरिन् । दोस्रो स्थानमा एमएमए फाइटर रवीन्द्र ढाँटले २४.५३ प्रतिशत मत पाए । तेस्रो स्थानकी सानुमाया थिङले १८.४८ मत पाएको आयोजकले जनाएको छ । यस विधामा र क्रिकेटका शेर मल्ल पनि प्रतिस्पर्धामा थिए ।
सुष्मालाई पारा एथलिट सम्मान
गत वर्ष नेपाल पहिलोपटक दृष्टिविहीन महिला टी–२० क्रिकेटको उपविजेता बनेको थियो । नेपाललाई उपाधि भिडन्तसम्म पुर्याउन विशेष योगदान दिने सुष्मा तामाङ पारा एथलिट सम्मान, २०८२’ बाट सम्मानित भइन् । सुष्मा पूर्ण रूपमा दृष्टि गुमाएकी अर्थात् बी वान क्याटगोरीकी क्रिकेटर हुन् । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपाल फाइनलमा पुगेको थियो । सुष्मा सो विश्वकपको ‘बी वान’ क्याटगोरीको प्लेयर अफ द सिरिज भएकी थिइन् ।
मल्ललाई स्पेसल अवार्ड
कराँतेका प्रशिक्षक ध्रुवविक्रम मल्ल स्पेसल अवार्डबाट सम्मानित भएका छन् । ०४८ मा आफूले खोलेको बालाजु कराँते डो एकेडेमीमार्फत मल्लले नेपाली कराँते खेलमा अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउने खेलाडी उत्पादन गर्दै आइरहेका छन् । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन एसियाडमा विमला तामाङले कांस्य जित्दा उनी प्रशिक्षक थिए । यसैगरी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुअन्तर्गत कराँतेका खेलाडीले दर्जनौँ पदक जित्दा उनीहरूका प्रशिक्षक मल्ल नै थिए ।
चार प्रतिस्पर्धीलाई पछि पारिन् एरिकाले
महिला वर्ष खेलाडी हुँदा एरिकाले चार प्रतिस्पर्धीलाई पछि पारिन् । उनको विधामा कराँतेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी थिए । एरिकाले गत वर्ष मोरोक्कोको रवातमा भएको कराँते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा कांस्य पदक हात पारेकी थिइन् । यसैगरी, गत वर्ष नै उनले टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा रजत, चीनमा सम्पन्न डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा रजत, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् ।
विश्व च्याम्पियनसिपका कांस्य विजेता चन्द्र
चन्द्रले गत वर्ष नेपाली बक्सिङ इतिहासकै सबैभन्दा ठुलो सफलता चुमेका थिए । उनले संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कांस्य पदक जितेर इतिहास बनाए । यसै प्रदर्शनका आधारमा उनी यसपटक उत्कृष्ट वर्ष खेलाडी बनेका हुन् । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली मुक्केबाज हुन् । यस अवार्डका लागि उनले दीपेन्द्रसिंह ऐरी (क्रिकेट,) सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बैजाली मगर (कराँते) र सद्भाव आचार्य (गल्फ)लाई निराश पारे । चन्द्रलाई गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले चन्द्रबहादुरलाई अवार्ड प्रदान गरे ।
शाहीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
ब्याडमिन्टनमा जीवन समर्पण गर्ने कुमार मोहनबहादुर शाही एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । ८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । उनी ब्याडमिन्टनसँगै फुटबल, टेबुलटेनिस, र टेनिसका उम्दा खेलाडी थिए । सन् १९७२ मा भएको आमन्त्रण ब्याडमिन्टन प्रतियोगितामा शाहीले त्यतिवेलाका विश्व नम्बर एक खेलाडी चीनका लीलाई पराजित गरेका थिए । उमेरले पाको भए पनि कोर्टसँगको उनको सम्बन्ध टुटेको छैन । उनी अझै र्याकेट समातेर कोर्टमा उत्रिन्छन् । उनको यो अनवरत यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।