फास्ट ट्रयाकको सबैभन्दा लामो सुरुङ ‘ब्रेक थ्रु’

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण
  • ७०.९७ किमि लामो द्रुतमार्गअन्तर्गत सात सुरुङमार्ग बन्दै छन्, तीमध्ये दुईवटा यसअघि नै ब्रेक थ्रु भइसकेका छन् 

काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत महादेवटारको बायाँ सुरुङमार्ग छेडिएको छ । द्रुतमार्गमा बन्ने सबैभन्दा लामो तीन हजार चार सय ८६ मिटर लामो सुरुङमार्ग बिहीबार ब्रेक थ्रु भएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको परियोजनाअन्तर्गतको महादेवटार बायाँतर्फको सुरुङ ब्रेक थ्रु भएको सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । दायाँतर्फको सुरुङ पनि छिट्टै ब्रेक थ्रु हुने उनले बताए । तीन हजार चार सय २२ मिटर लामो दायाँ सुरुङको ९१ प्रतिशत खण्ड सम्पन्न भइसकेको छ । सेनाको तथ्यांकअनुसार यसमा तीन हजार १०३.५ मिटर खण्ड खनिसकिएको छ ।

७०.९७ किमि लामो दुतमार्गअन्तर्गत सात सुरुङमार्ग बन्दै छन् । त्यसमा दुईवटा सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् । धेद्रेमा रहेको १७ सय २८ मिटर लामो बायाँ सुरुङ २१ साउन ०८१ र १६ सय ५३ मिटर लामो दायाँ सुरुङ ११ जेठ ०८१ मा ब्रेक थ्रु भएको थियो । त्यस्तै, लेनडाँडामा रहेको १६ सय ३३ मिटर लामो बायाँ सुरुङ ४ जेठ ०८१ र १६ सय १२ मिटर लामो दायाँ सुरुङ ३० असार ०८१ मा ब्रेक थ्रु भएको हो ।

देवीचौरको एक हजार ७५ मिटर लामो बायाँ सुरुङमा १८५.२९ मिटर खनिएको छ भने ११ सय मिटरको दायाँ सुरु भने १९.७९ मिटर खनिएको सेनाले जनाएको छ । सिसौटारको पाँच सय ६० मिटर लामो बायाँ सुरुङमार्ग अझै खन्न सुरु भएको छैन । चार सय ८० मिटर लामो दायाँ सुरुङमार्ग भने ८५.७९ मिटर खनिसकिएको सेनाको तथ्यांक छ । यसैगरी, चन्द्राम भिरको २२ सय १३ मिटर लामो बायाँ सुरुङमा ७४९.५ मिटर खनिएको छ । २२ सय ६१ मिटरको दायाँ सुरुङ भने ६५२.४ मिटर खनिएको सेनाको प्रतिवेदन छ । साढे पाँच सय मिटर लामो हुने मौरीभिर सुरुङको निर्माण भने अझै सुरु भएको छैन । फास्ट ट्रयाकको डिजाइन स्पिडलाई असर नपुग्ने गरी यसमा डेडिकेटेड रूपमा दायाँ–बायाँ एकतर्फी सुरुङ बनाउने काम भइरहेको छ ।

फास्ट ट्रयाकको भौतिक प्रगति ४९.२५ प्रतिशत 
साउन मसान्तसम्म आयोजनाको समग्र भौतिक प्रगति ४९.२५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ५०.६४ प्रतिशत पुगेको सेनाको तथ्यांक छ । फास्ट ट्रयाकको समग्र काम भने कमजोर देखिएको छ । नेपाली सेनालाई जिम्मा लगाएको एक दशक हुँदा पनि यसको भौतिक प्रगति न्यून छ । संशोधित डिपिआरअनुसार ७०.९७ किलोमिटर लामो यस द्रुतमार्गको निर्माण गर्ने जिम्मेवारी २१ वैशाख ०७४ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । त्यसपछि सरकारले १ भदौ ०७६ मा यसको डिपिआर स्वीकृत गरेपछि निर्माण सुरु गरिएको थियो । यद्यपि, सेनाले ०७४ बाटै काम सुरु गरेको थियो । पहिला पुस ०८१ मा सक्ने भनिएको यसको निर्माण गर्ने म्याद थप गरेर चैत ०८३ सम्म पुर्याइएको छ । तर, त्यो अवधिमा पनि काम नसकिने भएपछि म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यसको संशोधित लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । आयोजना बनेपछि प्रतिघण्टा ६० किमिदेखि १०० किमिको गतिमा निजगढबाट काठमाडौं एक घण्टा दुई मिनेटमा आउन सकिन्छ ।

चोभारमा बन्दै छ प्रस्थान विन्दु
अहिले परियोजनाको काठमाडौंतर्फको प्रस्थान विन्दु चोभारमा बनाउने गरी छलफल अघि बढाइएको छ । चोभारस्थित सुक्खा बन्दरगाहलाई समेत पहुँच हुने गरी द्रुतमार्गको नयाँ प्रस्थान विन्दु प्रस्ताव गरिएको छ । यसो गर्दा हाल ७०.९७ किमि लामो द्रुतमार्गको लम्बाइ करिब डेढ किमि बढ्नेछ । त्यसले लागत पनि आंशिक रूपमा बढाउनेछ ।

फास्ट ट्रयाकको काठमाडौंतर्फको टोल प्लाजा (शुल्क संकलनगृह) चोभारमै हुनेछ । त्यसपछि चोभार–बल्खु (चक्रपथ) सडकमार्फत फास्ट ट्रयाकलाई सोझै काठमाडौंसँग जोडिनेछ । हाल चोभार–बल्खु सडकलाई पनि चार लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । चोभारमा प्रस्थान विन्दु बन्दा काठमाडौंसँग छोटो दूरीमा सिधा सम्पर्क हुनेछ भने चोभार सुक्खा बन्दरगाहमा पनि सिधा पहुँच हुनेछ । हाल खोकनामा रहेको विवाद समाधान गर्न पनि सहयोग पुग्नेछ । तर, परियोजनाको लागत भने बढ्नेछ ।

सुझावित समाचार