इरानले पछिल्लोपटक छिमेकी देशमा रहेको अमेरिकी सैन्य आधारमा आक्रमण गर्न ‘खेइबर सेकान मिसाइल’ प्रयोग गरेको बताएको छ । खेइबर सेकानको अर्थ फारसीमा ‘दरबार भत्काउन सक्ने’ भन्ने हुन्छ । यो अमेरिका–इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि सबैभन्दा चर्चामा रहेको हतियारमध्ये एकको रूपमा देखा परेको छ ।
६ महिना लामो अमेरिकी र इजरायली आक्रमणपछि पनि आफ्नो मिसाइल भण्डार अझै उलेख्य रहेको प्रदर्शन गर्न पनि तेहरानले गत हप्ताभर मध्यपूर्वमा रहेका अमेरिकी सैन्य लक्ष्य र पूर्वाधारमा मिसाइल आक्रमण गरिरहेको छ ।
यी आक्रमणमा इरानले मुख्यतः खेइबर सेकान मिसाइलको प्रयोग गरिरहेको छ । यो एक मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो, जसलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले विकास गरेको हो । यसलाई इरानको नयाँ मध्यम दूरीको मिसाइल प्रणालीमध्ये एक मानिन्छ, जसको दायरा लगभग एक हजार ४५० किलोमिटर छ । यस मिसाइलले ४४९ किलोग्राम देखि ५९० किलोग्रामसम्मको बम बोक्न सक्छ ।